काठमाडौं । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन प्रक्रिया सुरु गर्ने तयारी भइरहेका बेला सुन्दरहरैंचास्थित सिग्देल प्रतिष्ठानमा कार्यकर्ताबीच झडप भएको छ।
झडपमा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तवदार, चेतराज रेग्मीलगायत पाँच–छ जना घाइते भएका कांग्रेस नेताहरूले बताएका छन्। केही घाइतेको उपचार भइरहेको छ।
घटनापछि क्षेत्रीय अधिवेशनको मनोनयन प्रक्रिया प्रभावित भएको छ। कांग्रेस सहमहामन्त्री डिला संग्रौलाले केही व्यक्तिले फलामका रडसहित आएर तवदारलगायतमाथि आक्रमण गरेको आरोप लगाउँदै घटनाको छानबिन र कारबाहीको माग गरेकी छन्।
क्षेत्रीय सभापति देवराज तामाङले भने आफूले कसैलाई आक्रमण गर्न निर्देशन नदिएको दाबी गर्दै आरोप पुष्टि गर्न चुनौती दिएका छन्। उनका अनुसार क्रियाशील सदस्यता वितरणको विषयमा विवाद भएपछि झडप भएको हो।
मोरङ–६ मा यसअघि पनि क्रियाशील सदस्यताको अन्तिम सूची र अधिवेशन प्रक्रियालाई लिएर विवाद हुँदै आएको थियो। क्षेत्रीय सभापतिका लागि तवदार र बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर प्रमुख दाबेदारका रूपमा देखिएका छन्।