जन आकाश
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको चालु आर्थिक वर्षको वित्तीय प्रगति साढे दुई महिना बितिसक्दा ३ दशमलव ०८ प्रतिशतमा सीमित भएको छ। वित्तीय प्रगति न्यून देखिएपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले बजेट तथा कार्यक्रम कार्यान्वयनलाई गति दिन मातहतका निकायलाई निर्देशन दिएका छन्।
बुधबार मन्त्रालयमा आयोजित समीक्षा बैठकमा मन्त्री श्रेष्ठले आर्थिक वर्षको अन्तिममा मात्रै बजेट खर्च गर्ने परम्परा अन्त्य गर्दै सुरुदेखि नै योजनाबद्ध रूपमा कार्यक्रम अघि बढाउन निर्देशन दिए। उनले स्पष्ट कार्यतालिका बनाएर निर्धारित समयमै ठेक्का आह्वान तथा सम्झौता गरी आयोजना कार्यान्वयनमा लैजान आग्रह गरे।
मन्त्री श्रेष्ठले निर्णय गरेर मात्र नपुग्ने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनमा मन्त्रालय र मातहतका निकाय जवाफदेही हुनुपर्ने बताए। आर्थिक अनियमितता मात्र नभई जिम्मेवारी समयमा पूरा नगर्नु पनि जवाफदेहिताको विषय भएको उनको भनाइ थियो।
उनले सरकार विपत्तिसँग जुध्न केन्द्रित हुनुपरेको अवस्था अब अन्त्य गर्दै क्षतिको पुनरुत्थान र विकासलाई अघि बढाउन ‘रिकभरी प्लान’ बनाएर काम गर्नुपर्नेमा जोड दिए।
बैठकमा मन्त्रालयले चालु आर्थिक वर्षमा गरेका नीतिगत तथा कानुनी कामको प्रगतिसमेत प्रस्तुत गरिएको थियो। जलस्रोत र नवीकरणीय ऊर्जासम्बन्धी दुई विधेयक मन्त्रिपरिषद्मा पेश गरिएको, ७६ विषयमा कानुनी राय दिइएको र १२ विषयमा जरिवानासम्बन्धी कारबाही गरिएको जानकारी दिइयो।
त्यस्तै, बूढीगण्डकी विकास प्राधिकरण गठनसम्बन्धी अवधारणाको मस्यौदा, विद्युत् नियमावली तथा विद्युत् व्यापार नियमावलीको मस्यौदा र ऊर्जा विधेयक तथा विद्युत्–ऊर्जा नीतिको मस्यौदा निर्माणको काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend