logo आइतबार, असोज १८ २०८३ | Sunday 4th October 2026

एनआईसी एशियाका मर्चेन्टले अब एप्पल पे र गुगल पेबाट भुक्तानी लिन सक्ने


  • जन आकाश
  • आइतबार, असोज १८ २०८३

काठमाडौं ।  एनआईसी एशिया बैंकका ई–कमर्स पेमेन्ट गेटवेमा आबद्ध मर्चेन्ट ग्राहकले अब नेपालमै पहिलो पटक एप्पल पे र गुगल पेमा रहेका भिसा तथा मास्टरकार्ड प्रयोगकर्ताबाट सहज रूपमा भुक्तानी प्राप्त गर्न सक्ने भएका छन्।



बैंकका अनुसार साइबरसोर्स पेमेन्ट गेटवेमा आबद्ध तथा आबद्ध हुन चाहने व्यवसायीले विश्वभरका एप्पल पे र गुगल पे प्रयोगकर्ताबाट आफ्नो ई–कमर्स प्लेटफर्ममार्फत भुक्तानी स्वीकार गर्न सक्नेछन्। यसबाट अन्तर्राष्ट्रिय ग्राहकले भौतिक कार्ड प्रयोग नगरी मोबाइलमार्फत सुरक्षित र सरल रूपमा भुक्तानी गर्न सक्नेछन्।

होटल, टुर्स एण्ड ट्राभल्स, ह्यान्डीक्राफ्ट, एयरलाइन्स, ई–कमर्स तथा आईटी क्षेत्रका व्यवसायले यो सुविधा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ। विशेषगरी पर्यटन, आतिथ्य, यात्रा तथा निर्यात व्यवसायलाई अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी लिन सहज हुने र विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बैंकले यो सेवाले डिजिटल भुक्तानीलाई थप सहज, आधुनिक र सुरक्षित बनाउनुका साथै नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रिय ग्राहकका लागि परिचित पेमेन्ट एक्सपिरियन्स प्रदान गर्ने जनाएको छ। साथै, यसबाट नेपालको पर्यटन प्रवर्द्धन तथा अन्तरदेशीय भुक्तानी प्रणालीमा समेत सकारात्मक योगदान पुग्ने बैंकको विश्वास छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend