जन आकाश
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले असोज २९ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरमा ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ निष्कासन गर्न लागेको हो। प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ।
कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ। बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।
सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकले जनाएको छ।
ऋणपत्रमा लगानी गर्न इच्छुकले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा निष्कासन गरिएको सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आवेदन दिने अन्तिम म्याद कात्तिक १० गतेसम्म तोकिएको छ। सो अवधिसम्म मागअनुसार आवेदन नपरे बिक्री अवधि कात्तिक १२ गतेसम्म थप गर्न सकिनेछ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालय वा ‘मेरो सेयर’ अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।
राष्ट्रिय वाणिज्य बैंकलाई केयर रेटिङ नेपालले ‘केयर एनपी सिंगल ए प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले बैंक आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्न पर्याप्त रूपमा सुरक्षित रहेको संकेत गर्छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend