logo शनिबार, कार्तिक १ २०८३ | Saturday 17th October 2026

गोरखावाट काठमाडौ पठाईयो फुलपाती


  • जन आकाश
  • शनिबार, कार्तिक १ २०८३

गोरखा । गोरखा दरबारबाट काठमाडौंको हुनमानढोकाका लागि फूलपाती पठाइएको छ । शनिबार बिहान बाजागाजासहित बा २ झ २१२८ नम्बरको गाडीमा फूलपाती पठाइएको हो ।



शुक्रबार पस्लाङ क्षेत्रको वनबाट फूलपाती संकलन गरेर गोरखा दरबारको दशैं घरमा राखिएको थियो । सोही फूलपाती शनिबार बिहान काठमाडौं पठाइएको पुजारी सारु मगरले बताए ।

‘सुसारेहरूले वनबाट संकलन गरेर ल्याएको हलेदो, धान, तामा, वेल, जयन्ती झार, माने लगायतका फूलपाती दशैं घरमा राखिएको थियो,’ उनले भने, ‘त्यही फूलपाती आज काठमाडौैं पठाएका हौं ।’ पहिले धादिङको जिवनपुर, नुवाकोट हुँदै हिंडेर फुलपाती हनुमानढोका पुर्‍याउने प्रचलन थियो ।

२०६६ सालदेखि यो क्रमलाइ तोडेर मोटरवाटोको प्रयोग गर्न थालिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । राज्य एकीकरणको क्रममा पृथ्वी नारायण शाहले काठमाडौंमाथि विजय प्राप्त गरेर राजधानी बनाएसँगै गोरखाको फूलपाती हनुमानढोका लाने प्रचलन शुरु भएको विश्वास छ ।

आज साँझ बाजागाज सहित हर्ष बडाइका साथ गोरखा दरबारमा पनि फूलपाती भित्र्याउने प्रचलन छ । साँझ करिब चार बजे फूलपाती भित्र्याइने मगरले बताए । ‘आज गोरखकाली मन्दिरमा भित्र्याउने फूलपाती संकलन गर्न आज बिहान सुसारेहरू गइसक्नुभएको छ,’ उनले भने, ‘घाम डुब्ने बेलामा बाजागाजासहित हर्षबडाइँ गर्दै त्यो फूलपाती गोरखकाली मन्दिरको दशै घरमा भित्र्याउँछौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend