जन आकाश
काठमाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएपछि सरकारले ८० वटा सार्वजनिक निकायमा ६११ जना पदाधिकारी नियुक्त गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालका अनुसार विभिन्न मन्त्रालय, आयोग, प्रतिष्ठान, विश्वविद्यालय, बोर्ड, काउन्सिल तथा संस्थानअन्तर्गतका निकायमा नयाँ नियुक्ति तथा पदपूर्ति गरिएको हो।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायबाट असोज २६ गतेदेखि हालसम्म सम्पादन भएका प्रमुख कामबारे जानकारी दिँदै अर्यालले नियुक्ति प्रक्रिया खुला, प्रतिस्पर्धात्मक र पारदर्शी बनाइएको बताए।
उनका अनुसार विभिन्न मन्त्रालयबाट ४१९ जना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट १४ जना तथा विभिन्न विश्वविद्यालय, आयोग र प्रतिष्ठानमा प्रधानमन्त्रीबाट नियुक्त हुने १७८ जना पदाधिकारी नियुक्त भएका छन्।
मन्त्रालयगत विवरणअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत सबैभन्दा धेरै १६९ जना नियुक्त भएका छन्। मन्त्रालयअन्तर्गतका १३ वटा निकायमा उनीहरूको नियुक्ति गरिएको हो।
त्यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत १५ वटा निकायमा ८२ जना र शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत १८ वटा निकायमा ७० जना नियुक्त भएका छन्।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सातवटा निकायमा २९ जना र अर्थ मन्त्रालयअन्तर्गत सातवटा निकायमा २५ जनाको नियुक्ति भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत तीनवटा निकायमा १४ जना पदाधिकारी नियुक्त भएका छन्।
यसैगरी, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत चारवटा निकायमा ११ जना र सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत पाँचवटा निकायमा नौ जना नियुक्त भएका छन्।
कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत दुईवटा निकायमा आठ जना तथा युवा तथा श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत तीनवटा निकायमा आठ जनाको नियुक्ति भएको अर्यालले जानकारी दिए।
त्यस्तै, गृह मन्त्रालयअन्तर्गत दुईवटा निकायमा दुई जना र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयअन्तर्गत एउटा निकायमा दुई जना पदाधिकारी नियुक्त भएका छन्।सरकारले अध्यादेश जारी भएपछि विभिन्न सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा पदपूर्तिको प्रक्रिया अघि बढाएको हो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend