जन आकाश
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर) को वेबसाइट सार्वजनिक गरेका छन्।
प्रतिष्ठानमार्फत नेपालले सामना गरिरहेका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधिगत तथा भूराजनीतिक चुनौतीबारे अध्ययन तथा अनुसन्धान गरिने नीति अनुसन्धान परिषद्का अध्यक्ष विष्णु रिमालले जानकारी दिए।
रिमालका अनुसार इन्स्पायरले नीति निर्माता र विषयविज्ञलाई एकै ठाउँमा ल्याएर विभिन्न विषयमा छलफल तथा बहस सञ्चालन गर्दै आएको छ। ज्ञान उत्पादन र रणनीतिक बहसलाई सहजीकरण गर्दै नेपालको लोकतान्त्रिक, समाजवादउन्मुख तथा राष्ट्रिय विकासको एजेन्डामा योगदान पुर्याउने लक्ष्य प्रतिष्ठानले लिएको उनले बताए।
नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध वेबसाइटमा पाँचवटा प्रमुख विधा समेटिएका छन्। ती विधामा अर्थ–राजनीति, समाज अध्ययन, प्राकृतिक स्रोत, प्रविधि तथा नवप्रवर्तन र परराष्ट्र मामिला रहेका छन्।
वेबसाइटमा इन्स्पायरले यसअघि सञ्चालन गरेका नीतिगत बहसका कार्यपत्र तथा जर्नल लेखहरू पनि प्रकाशित गरिएका छन्। त्यहाँ आठवटा कार्यपत्र र चारवटा विशेष प्रतिवेदन समावेश छन्।
वेबसाइटमा ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आलोकमा जनताको बहुदलीय जनवाद’, ‘बदलिँदो जनसांख्यिक संरचना’, ‘नेपाली समाजको रूपान्तरण’, ‘उत्पादन सम्बन्ध’, ‘राष्ट्रिय सुरक्षा नीति’, ‘विश्वको अर्थ–राजनीति’, ‘शक्ति सन्तुलन’, ‘आप्रवासनबाट उत्पन्न संरचनात्मक परिवर्तन’ र ‘समाजको वर्ग विश्लेषण’ लगायतका विषयमा तयार पारिएका सामग्री उपलब्ध छन्।
त्यसैगरी, वेबसाइटमा ‘किताबका कुरा’ र ‘युथ इग्नाइट’ लगायतका शीर्षकसमेत राखिएका छन्। इन्स्पायरका कार्यकारी निर्देशक आशिष रेग्मीका अनुसार वेबसाइटमा प्रकाशित सामग्रीमाथि नीतिगत बहस भएपछि प्राप्त नयाँ विचारहरूलाई ‘पोलिसी ल्याब’ मा समावेश गरिनेछ।
वेबसाइटको नेपाली भाषातर्फ रामशरण बजगाईं र अंग्रेजी भाषातर्फ बालकृष्ण कट्टेल सम्पादक रहेका छन्।
अध्यक्ष रिमालले एमालेलाई नीतिगत रूपमा बलियो बनाउनुका साथै राजनीतिक वृत्तबाहिर भइरहेका बहस र समाजमा उठिरहेका विषयलाई वेबसाइटमार्फत राजनीतिको मूल प्रवाहमा ल्याउने प्रयास गरिएको बताए।
वेबसाइटमा प्रकाशित सामग्रीबारे डा. युवराज खतिवडा, प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, डा. नेत्र तिम्सिना, डा. विष्णुराज उप्रेती, प्रज्ञा अधिकारी र डा. टीका ढकालले आ–आफ्ना धारणा राखेका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend