जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया तीव्र बनाएको छ। पार्टीले उम्मेदवार छनोटलाई व्यवस्थित, पारदर्शी र समावेशी बनाउन विभिन्न उपसमिति गठन गर्नुका साथै उम्मेदवारी आवेदन खुला गर्ने निर्णय गरेको हो।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री एवं उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउन विभिन्न निर्णय गरेको छ।
बैठकले समिति सदस्यहरूको संयोजकत्वमा सातवटा उपसमिति गठन गरेको छ। जसअनुसार क्यान्डिडेट क्लबमा कविन्द्र बुर्लाकोटी, प्रविधिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा. तोशिमा कार्की, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसारमा मिलन लिम्बूलाई संयोजकको जिम्मेवारी दिइएको छ।
त्यस्तै, महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक तथा योग्य व्यक्तिहरूका लागि आवेदन खुला गर्ने निर्णय पनि बैठकले गरेको छ।
उम्मेदवारी दिन इच्छुक व्यक्तिहरूले पार्टीको ‘क्यान्डिडेट क्लब’ मार्फत आवेदन पेस गर्न सक्नेछन्। पार्टीले उम्मेदवार छनोट गर्दा योग्यता, समावेशिता र पारदर्शितालाई प्राथमिकतामा राख्ने जनाएको छ।
सातवटा उपसमितिमार्फत उम्मेदवार छनोटसम्बन्धी विभिन्न काम अघि बढाउने तयारीसहित रास्वपाले आगामी स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend