जन आकाश
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणलाई नतिजामुखी ढंगले अघि बढाउँदै विद्युत सेवा थप भरपर्दो, गुणस्तरीय र ग्राहक केन्द्रित बनाउन निर्देशन दिएका छन्।
प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई बुधबार पद तथा गोपनीयताको शपथ गराउँदै मन्त्री श्रेष्ठले राज्यका निकाय जनताका सेवक भएकाले सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर जिम्मेवार ढंगले काम गर्नुपर्ने बताए।
मन्त्री श्रेष्ठले त्रिशूली बाढीका कारण अवरुद्ध भई पुनः सञ्चालनमा आएको विद्युत प्रणालीलाई दीगो र भरपर्दो बनाउन विशेष ध्यान दिन निर्देशन दिए। विद्युतको माग र आपूर्तिको नियमित विश्लेषण तथा प्रक्षेपण गरी घरेलु, औद्योगिकलगायत सबै ग्राहकले २४ सै घण्टा, सातै दिन र वर्षभर गुणस्तरीय तथा भरपर्दो विद्युत पाउने अवस्था सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।
विषम परिस्थितिमा उपलब्ध स्रोत, साधन र जनशक्तिको पारदर्शी, मितव्ययी तथा दक्षतापूर्वक उच्चतम उपयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई प्राधिकरणको कार्यसम्पादनको महत्वपूर्ण आधार बनाउन निर्देशन दिए।
उनले विद्युत प्रसारण लाइन निर्माण तथा वितरण प्रणाली सुधारलाई उच्च प्राथमिकतामा राख्न, रणनीतिक महत्वका आयोजनाको निर्माणलाई गति दिन तथा विपद्का कारण क्षतिग्रस्त विद्युत आयोजनाको पुनर्निर्माणमा अग्रसरता देखाउन पनि निर्देशन दिए।
मन्त्रालय, प्राधिकरण तथा अन्य सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गरी राज्यका संरचनालाई थप बलियो, उत्तरदायी र परिणाममुखी बनाउनुपर्ने मन्त्री श्रेष्ठले बताए।
कार्यक्रममा मन्त्रालयका निमित्त सचिव डा. जगदीश कर्माचार्यले नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठलाई बधाई दिँदै सरकारले उनको विज्ञता र योग्यतालाई आधार बनाएर जिम्मेवारी दिएको बताए। उनको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणले आगामी दिनमा थप प्रभावकारी उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै उनले विपद्का कारण उत्पन्न चुनौतीबीच संस्थालाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
मन्त्री श्रेष्ठले हालैका विपद्का कारण ऊर्जा क्षेत्रमा उत्पन्न चुनौतीको सामना गर्न प्राधिकरणको आधारभूत तहदेखि नेतृत्व तहसम्म जिम्मेवारीपूर्वक खटिएका कार्यकारी निर्देशक श्रेष्ठले आगामी दिनमा पनि सोही प्रतिबद्धताका साथ काम गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend