logo बुधबार, असोज २१ २०८३ | Wednesday 7th October 2026

कांग्रेस महाधिवेशन : गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा उपसभापतिमा उम्मेदवारी घोषणा


  • जन आकाश
  • सोमबार, असोज १९ २०८३

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।



काठमाडौंको खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन सुरु भएसँगै पाण्डेले उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन्। उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा तीन पटक निर्वाचित भएका छन्।

उम्मेदवारी घोषणा गर्दै पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढाउन आफूले भूमिका खेल्ने बताएका छन्। पार्टीभित्र र बाहिरबाट कांग्रेसको एकता तथा सुदृढ संगठन निर्माणको आवश्यकता उठिरहेको भन्दै उनले सबै तह र पुस्ताका नेता–कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा जोड्नु आफ्नो प्राथमिकता हुने बताए।

पाण्डेले आफूले ४५ वर्षभन्दा बढी समय कांग्रेसको सदस्यका रूपमा काम गरेको उल्लेख गर्दै विगतको अनुभव, वर्तमानको ऊर्जा र आगामी यात्राबीचको सहकार्यबाट पार्टीका लागि नयाँ आधार निर्माण गर्नुपर्ने बताए।

पार्टी संगठन तथा सरकार सञ्चालनका क्रममा प्राप्त अनुभवलाई आगामी दिनमा कांग्रेसको हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले महाधिवेशनका क्रममा प्राप्त हुने सुझाव, विचार, संवाद र सहकार्यलाई आफ्नो आगामी राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा लिएको बताए।

पाण्डेले कांग्रेसका महाधिवेशन प्रतिनिधि, पार्टी सदस्य, शुभेच्छुक तथा शुभचिन्तकको साथ र सहयोगबाट आफू उपसभापति पदमा निर्वाचित हुने विश्वाससमेत व्यक्त गरेका छन्।

मुख्यमन्त्रीका रूपमा पाण्डेको नेतृत्वमा गण्डकी प्रदेशमा गाँजा खेती र घरेलु मदिरालाई नियमन तथा वैधानिक दायरामा ल्याउने कानुनी व्यवस्था गरिएको छ। त्यस्तै, नेपालमै पहिलोपटक राइड सेयरिङलाई कानुनी दायरामा ल्याउने नियमावलीसमेत गण्डकी प्रदेशले अघि बढाएको थियो। पाण्डे कांग्रेसभित्र लामो राजनीतिक अनुभव भएका नेताका रूपमा परिचित छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend