जन आकाश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट सम्भव हुने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग आज भएको भेटमा राष्ट्रपति पौडेलले समृद्ध नेपाल निर्माणको संकल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सिर्जनशील र अग्रणी भूमिकामा प्रस्तुत हुनुपर्ने बताए।
उनले नेपालको आर्थिक समृद्धिमा निजी क्षेत्रले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए।
महासंघको संगठनात्मक विस्तार तथा त्यसमा आबद्ध १४ लाखभन्दा बढी व्यवसायीको प्रगति समग्र देशको प्रगति भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आर्थिक विकास, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए।
सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा, पूर्वाधार विकास, सहज प्रशासन र व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्ने तथा निजी क्षेत्रले लगानी, उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई थप विस्तार गर्नुपर्ने उनको भनाइ थियो। यी दुई पक्षबीचको विश्वास र सहकार्यले आर्थिक समृद्धिको बलियो आधार निर्माण गर्न सक्ने उनले बताए।
राष्ट्रपति पौडेलले अबको प्राथमिकता उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन, स्वदेशी तथा विदेशी लगानी आकर्षण, रोजगारी सिर्जना र नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा केन्द्रित हुनुपर्ने बताए।
जलविद्युत्, पर्यटन, कृषि तथा कृषिजन्य उद्योग, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा उपलब्ध सम्भावनालाई परिणाममुखी ढंगले उपयोग गर्नुपर्नेमा उनले जोड दिए। विशेषगरी युवा जनशक्तिलाई स्वदेशमै अवसर र उद्यमका सम्भावना सिर्जना गर्नु सरकार, निजी क्षेत्र र समाजको साझा दायित्व भएको राष्ट्रपति पौडेलले बताए।
डिजिटल रूपान्तरण र विश्वव्यापी प्रतिस्पर्धाको वर्तमान युगमा महासंघले आफ्नो राष्ट्रिय सञ्जाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालसँग जोड्दै नेपाली उत्पादन, सेवा र उद्यमलाई विश्व बजारमा पुर्याउन थप नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वाससमेत उनले व्यक्त गरे।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend