जन आकाश
काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षअन्तर्गत १५औँ महाधिवेशनको तयारीका क्रममा दाङको घोराही उपमहानगरपालिकामा नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट विक्रम शम्सेर महरा नगर सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्।
अधिवेशनले चुडामणि पाण्डे ‘बाबुराम’लाई सचिवमा सर्वसम्मत चयन गरेको छ। अन्य पदाधिकारी तथा सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन भएका छन्।
जिल्ला संयोजक नेता गोपालराज शर्माको अध्यक्षतामा सम्पन्न अधिवेशनमा कांग्रेसका पूर्वसभापति वीरकेशरी गौतम प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नेता बमबहादुर डिसी, पुष्पा श्रेष्ठ, दामोदर केसी र शरद खनाललगायतको उपस्थिति थियो।
यसैबीच, तुलसीपुर उपमहानगरपालिकामा कांग्रेस देउवा पक्षको नगर अधिवेशन उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा देउवा पक्षका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीले आफूहरूले कांग्रेसको आधिकारिकता प्राप्त गर्ने विश्वास व्यक्त गरे।
गिरीले अहिले तुलनात्मक रूपमा सानो समूहका रूपमा देखिए पनि नैतिकता र आधिकारिकताको हिसाबले आफूहरू बलियो रहेको दाबी गरे।
भरतराज आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा राजकुमारी दाङी, युवराज खड्का र विनोद खड्कालगायतले धारणा राखेका थिए। तुलसीपुरमा नयाँ नेतृत्व चयनका लागि भोलि बिहान निर्वाचन प्रक्रिया अघि बढाउने कार्यतालिका रहेको जनाइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend