जन आकाश
-जयराम बिडारी
असोज२३,ललितपुर
लन्डन स्कुल अफ इकोनमिक्सको ‘एट्लान्टिक फेलोशिप फर सोशल एन्ड इकोनमिक इक्विटी’को सहयोगमा कृत्रिम बौद्धिकता (एआई) मार्फत असमानता न्यूनीकरण सम्बन्धी विशेष पाइलट कार्यक्रम सम्पन्न गरिएको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर २ सँगको सहकार्यमा सञ्चालित कार्यक्रममा ललितपुरका स्थानीय समुदाय, पत्रकार, परियोजना सहजकर्ता तथा संयुक्त राष्ट्रसङ्घीय अनलाइन स्वयम्सेवकहरू (UNV) ले योगदान पुर्याएका थिए ।
“पहुँचबाट एजेन्सी तर्फ: न्यूनीकरणका लागि एआई साक्षरता” भन्ने मूल नाराका साथ सञ्चालित सो कार्यक्रममा एआई उपकरणहरूको प्रयोग कसरी गर्ने र यसले उनीहरूको काम, सिकाइ, सञ्चार एवं समुदायमा कस्तो प्रभाव पार्यो भन्ने विषयमा छलफल गरिएको थियो । गत जुन २०२६ मा सञ्चालित तालीमबाट प्राप्त उपलब्धि, प्रस्तुतीकरण, प्रदर्शन र समूहगत छलफलमार्फत अनुभव साटासाट समेत गरिएको
थियो ।
उक्त कार्यक्रममा एआई प्रविधिले ल्याएका अवसर र चुनौतीहरूका साथै स्थानीय परिवेशमा आलोचनात्मक सोच, डिजिटल समावेशीकरण र नैतिक सवालहरूमाथि समेत गहिरो मन्थन भएको थियो । साथै, कार्यक्रममा भावी दिनमा एआई साक्षरतालाई कसरी समुदाय-केन्द्रित र फराकिलो बनाउन सकिन्छ भन्ने विषयमा नीति निर्माता तथा सरोकारवालाहरूका लागि उपयोगी सुझाव र सिफारिसहरू समेत तयार पारिएको छ ।
सो समारोहमा समावेशी डिजिटल रूपान्तरण र सहपाठी सिकाइ (peer learning) लाई प्राथमिकता दिइएको थियो । यस पहलले सहभागीहरूलाई केवल प्रविधिको पहुँचमा मात्र सीमित नराखी उनीहरूमा आत्मबलको विकास,सक्रियता र सुसूचित हुने र निर्णय लिने क्षमता (एजेन्सी) विकास गर्न सहयोग पुर्याएको बताइएको छ । समारोहमा लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स (LSE) को अन्तर्राष्ट्रिय असमानता संस्थान (III) का प्रतिनिधि तथा परियोजनाका साझेदारहरूले मन्तव्य राख्दै सहभागीहरूको योगदानको प्रशंसा गरेका थिए ।
तीव्र रूपमा विकास भइरहेको एआई प्रविधिलाई मानिस, समावेशीकरण र सार्वजनिक हितको केन्द्रमा राखेर प्रयोग गर्न यस्ता समुदाय-केन्द्रित एआई साक्षरता अभियानहरू अपरिहार्य रहेको निष्कर्ष कार्यक्रमले निकालेको छ ।
सो समापन समारोहमा स्थानीय सरकारका प्रतिनिधि, नागरिक समाजका साझेदार, शिक्षाविद्, नीति निर्माता, स्वयम्सेवक तथा स्थानीय सहभागीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
ललितपुरस्थित होटल शाङ्ग्रिला ब्लुमा आयोजना गरिएको सो कार्यक्रम अपराह्न ४ बजेदेखि प्रारम्भ भई तीन घण्टासम्म निरन्तर चलेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend