logo बुधबार, असोज २८ २०८३ | Wednesday 14th October 2026

महामन्त्रीमा पराजित शर्माले भने,हारले पार्टी रूपान्तरणको संकल्प कमजोर हुँदैन


  • जन आकाश
  • सोमबार, असोज २६ २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित डा. सुनिलकुमार शर्माले निर्वाचनको परिणामले पार्टी रूपान्तरण र जनसेवाप्रतिको आफ्नो संकल्प कमजोर नबनाएको बताएका छन्।



सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले राजनीतिमा हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गरेका छन्। पदमा रहे पनि नरहे पनि पार्टी र नागरिकको सेवामा निरन्तर समर्पित रहने उनको प्रतिबद्धता छ।

आफ्नो उम्मेदवारी पद प्राप्तिका लागि मात्र नभई कांग्रेसलाई जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने उद्देश्यले रहेको शर्माले स्पष्ट पारेका छन्। उनले बीपी कोइरालाको विचार र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन निरन्तर लागिरहने बताएका छन्।

निर्वाचनमा विजयी सम्पूर्ण पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै शर्माले आफूलाई विश्वास गरेर मतदान गर्ने महाधिवेशन प्रतिनिधि, अग्रज, सहयात्री र शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।

प्राप्त मत र सद्भावले आफूलाई थप सक्रिय भएर काम गर्न प्रेरणा दिएको उल्लेख गर्दै उनले कांग्रेसभित्र सकारात्मक परिवर्तन, सुदृढ संगठन र जनउत्तरदायी राजनीतिक संस्कार स्थापनाका लागि आफ्नो प्रयास जारी रहने बताएका छन्।

शर्माले आगामी दिनमा पनि पार्टीका निर्वाचित पदाधिकारी, प्रतिस्पर्धामा सहभागी नेताहरू र कार्यकर्तासँग सहकार्य गर्दै देश तथा जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend