जन आकाश
काठमाडौं । आउटबाउन्ड टुरिजम एसोसिएसन अफ नेपाल (ओटान) ले काठमाडौंस्थित थाइल्यान्डको दूतावासले अपनाइरहेको भिसा प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएको छ। एसोसिएसनले भिसा प्रक्रिया अपारदर्शी, अव्यावहारिक र झन्झटिलो भएको आरोप लगाउँदै यसबाट नेपाली यात्रु तथा ट्राभल एजेन्सीहरू आर्थिक र मानसिक समस्यामा परेको जनाएको छ।
एसोसिएसनका अनुसार दूतावासले माग गरेका सम्पूर्ण कागजात पेस गर्दा पनि सामान्य त्रुटिका आधारमा भिसा अस्वीकृत हुने गरेको छ। पासपोर्टको तस्बिर अस्पष्ट भएको वा नागरिकताको प्रतिलिपि स्पष्ट नभएको जस्ता सुधार गर्न सकिने विषयमा समेत आवेदकलाई त्रुटि सच्याउने अवसर नदिई आवेदन अस्वीकृत गरिनु अन्यायपूर्ण भएको ओटानको भनाइ छ।
त्यस्तै, आवेदन दिएको १५ देखि २० दिनपछि नयाँ नियम लागू गरी त्यसअघि नै पेस गरिएका आवेदनसमेत अस्वीकृत गरिएको एसोसिएसनले आरोप लगाएको छ। नियम लागू हुनुअघि दर्ता भएका आवेदनमा पछि ल्याइएको व्यवस्था लागू गर्नु प्रशासनिक न्याय र पारदर्शिताको मान्यताविपरीत भएको उसको दाबी छ।
ओटानका अनुसार भिसा प्राप्त हुने सुनिश्चितता नहुँदा पनि यात्रुहरूले कन्फर्म हवाई टिकट र होटलको बुकिङ पेस गर्नुपर्ने व्यवस्था छ। यसका लागि यात्रुले लाखौँ रुपैयाँसम्म अग्रिम खर्च गर्नुपर्ने अवस्था रहेको एसोसिएसनले जनाएको छ।
भिसा अस्वीकृत हुँदा वा यात्रा मिति नाघेपछि मात्रै निर्णय आउँदा टिकट तथा होटलमा खर्च गरिएको रकम फिर्ता नपाइने जोखिम बढेको उसको भनाइ छ। बुकिङ डटकम र अगोडाजस्ता अन्तर्राष्ट्रिय अनलाइन प्रणालीबाट गरिएका होटल बुकिङलाई समेत मान्यता नदिई होटलबाट छुट्टै पत्र माग्दा प्रक्रिया थप झन्झटिलो र खर्चिलो बनेको आरोप लगाइएको छ।
एसोसिएसनका अनुसार दशैँ–तिहारजस्ता चाडपर्वमा परिवारसँग विदेश भ्रमण गर्ने योजना बनाएका नेपाली यात्रुहरू यस प्रक्रियाबाट विशेष रूपमा प्रभावित भएका छन्। एउटै परिवारका केही सदस्यको भिसा स्वीकृत हुने र केहीको अस्वीकृत हुने निर्णयले पारिवारिक भ्रमणको योजना नै प्रभावित भएको ओटानले जनाएको छ। थाइल्यान्डलाई भिसा दिने वा नदिने सार्वभौम अधिकार रहेको स्वीकार गर्दै एसोसिएसनले त्यसबाट उत्पन्न हुने सम्पूर्ण आर्थिक जोखिम निर्दोष नेपाली यात्रुमाथि थोपर्नु न्यायोचित नभएको उल्लेख गरेको छ।
ओटानले भिसासम्बन्धी समस्याबारे दूतावाससँग पटक–पटक सम्पर्क गर्ने प्रयास गर्दा फोन नउठाउने तथा स्पष्ट जवाफ नदिने प्रवृत्ति देखिएको आरोपसमेत लगाएको छ। हजारौँ नेपाली यात्रुको आर्थिक लगानी जोखिममा परेको अवस्थामा सम्बन्धित निकायले जिम्मेवार र पारदर्शी व्यवहार गर्नुपर्ने एसोसिएसनको माग छ। एसोसिएसनले भिसा प्रक्रियालाई पारदर्शी, व्यावहारिक र यात्रुमैत्री बनाउन, कागजातमा सामान्य त्रुटि भए सुधार गर्ने अवसर दिन तथा नयाँ नियम लागू गर्दा पहिले नै दर्ता भएका आवेदनको हकमा स्पष्ट व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएको छ।OTAN Press Release Thai Visa 12 Oct
भिसा स्वीकृत गर्ने अधिकार सम्बन्धित देशको भए पनि आवेदन प्रक्रिया पारदर्शी, स्पष्ट र पूर्वानुमानयोग्य हुनुपर्ने यात्रु तथा पर्यटन व्यवसायीहरूको माग छ। यस विषयमा थाइल्यान्डको दूतावासको आधिकारिक प्रतिक्रिया भने प्राप्त विवरणमा समावेश छैन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend