जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आगामी निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया पारदर्शी, व्यवस्थित र योग्यतामा आधारित बनाउनुपर्ने बताएका छन्।
रास्वपा ललितपुर महानगरपालिकाले बडादसैँ, दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै खरेलले नेताको व्यक्तिगत तजबिज वा पहुँचका आधारमा टिकट वितरण गर्ने परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिएका हुन्।
उनले आगामी स्थानीय तहको निर्वाचनको तयारी अहिलेदेखि नै सुरु गर्नुपर्ने बताउँदै निर्वाचनमा सफल हुन पार्टीले मुख्यतः जनतासँगको सम्बन्ध बलियो बनाउने र उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी बनाउने विषयलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे।
खरेलका अनुसार पार्टीका नेता तथा कार्यकर्ताले जनतासँग निरन्तर सम्पर्कमा रहेर उनीहरूका आवश्यकता, अपेक्षा र गुनासालाई नजिकबाट बुझ्नुपर्छ। जनतासँगको सम्बन्धमा कुनै कमजोरी आउन नदिन पार्टीका नेता तथा कार्यकर्ता सचेत रहनुपर्ने उनको भनाइ थियो।
त्यस्तै, उम्मेदवार छनोटका लागि स्पष्ट मापदण्ड र योजनासहित अघि बढ्नुपर्ने उनले बताए। व्यक्तिगत निर्णय वा पहुँचका आधारमा टिकट वितरण गर्नुभन्दा उम्मेदवारको योग्यता र क्षमताका आधारमा छनोट गर्ने प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिए।
वर्तमान सरकारका कामबाट जनता आशावादी र उत्साहित बनेको दाबी गर्दै खरेलले सरकारले सुशासनका क्षेत्रमा गरेका काम तथा उपलब्धि जनतासमक्ष पुर्याउन पार्टी सफल भएको बताए। यद्यपि, अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो।
सरकारका उपलब्धि जनतासमक्ष पुर्याउने, जनतासँगको सम्बन्ध थप सुदृढ बनाउने र सङ्गठनको मनोबल उच्च राख्ने कार्यले आगामी निर्वाचनको तयारीमा महत्त्वपूर्ण भूमिका खेल्ने खरेलले उल्लेख गरे।
कार्यक्रममा सरकारका काम, पार्टीको सङ्गठनात्मक अवस्था तथा आगामी स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गरिएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend