जन आकाश
काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सांसद वीरबहादुर थापा र धर्मराज पाठकलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले दुवै सांसदलाई ४८ घण्टाभित्र जवाफ पेस गर्न निर्देशन दिने निर्णय गरेको हो।
बैठकमा सहभागी सांसदका अनुसार पार्टीको निर्देशनविपरीत प्रदेशसभा बैठकमा अनुपस्थित भएको विषयलाई लिएर उनीहरूसँग स्पष्टीकरण मागिएको हो।
यसैबीच, एमालेले धर्मराज पाठकलाई सामाजिक विकास समितिको सभापति पदबाट फिर्ता बोलाउने निर्णयसमेत गरेको छ।
एमालेले मंगलबार बसेको प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको थियो। तर, सांसदद्वय पाठक र थापा बैठकमा सहभागी भएका थिएनन्।
थापाले बजेटप्रति असन्तुष्टि जनाउँदै मंगलबार नै प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए। यद्यपि, उनको राजीनामालाई सभामुख भीमबहादुर भण्डारीले तत्काल स्वीकृत नगरी होल्डमा राखेका छन्।
पार्टीको निर्देशन पालना नगरेको विषयमा स्पष्टीकरण सोध्ने र समितिको सभापति पदबाट फिर्ता बोलाउने निर्णयसँगै एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलभित्रको असन्तुष्टि थप सतहमा आएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend