जन आकाश
काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई घरमै नयाँ प्रिपेड सिमकार्ड उपलब्ध गराउने उद्देश्यले ‘हुलाक सिम’ सेवा सुरु गरेको छ। यो सेवामार्फत ग्राहकले अब टेलिकमको काउन्टरमा लाइनमा नबसी अनलाइन आवेदन दिएर हुलाकमार्फत घरमै फिजिकल सिमकार्ड प्राप्त गर्न सक्नेछन्।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले एक कार्यक्रमबीच उक्त सेवाको शुभारम्भ गरेका हुन्। कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले पहिलो ग्राहकका रूपमा मन्त्री तिमिल्सिनालाई सिमकार्ड हस्तान्तरण गरेका थिए।
सेवाको शुभारम्भ गर्दै मन्त्री तिमिल्सिनाले हुलाक सिम सेवालाई सानो तर महत्त्वपूर्ण पहलका रूपमा उल्लेख गर्दै यसको दायरा विस्तार गर्न निर्देशन दिए। उनले आगामी दिनमा अन्य सेवासमेत पूर्ण रूपमा अनलाइनमार्फत उपलब्ध गराई नागरिकलाई सहज सेवा प्रदान गर्ने सरकारको प्रयासमा यसले सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलले वर्तमान पुस्ताको अपेक्षाअनुसार प्रविधिमा आधारित सेवा उपलब्ध गराउन सकिएकोमा खुसी व्यक्त गरे। उनले सरकारी सेवा हुलाकमार्फत वितरण गर्ने सरकारको प्रयासमा यस सेवाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै दुई संस्थाबीचको सहकार्य थप विस्तार गर्नुपर्नेमा जोड दिए।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कम्पनीले यसअघि कार्यालय तथा डिलरमार्फत सेवा दिँदै आएकोमा अब सेवाग्राहीको घरदैलोसम्म पुग्न सहज हुने बताइन्। उनका अनुसार यो सेवा विशेषगरी दुर्गम तथा सडक पहुँच कमजोर भएका ग्रामीण क्षेत्रमा टेलिकमका सेवा विस्तार गर्न उपयोगी हुनेछ। आगामी दिनमा अन्य सेवासमेत ग्राहकको घरदैलोसम्म पुर्याउन आवश्यक काम गरिने उनले बताइन्।
हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले ग्रामीण क्षेत्रमा नेपाल टेलिकमका सेवा पुर्याउन हुलाकको भूमिका महत्त्वपूर्ण हुने बताइन्। उनले दुई संस्थाबीच आगामी दिनमा अन्य सेवा वितरणमा समेत सहकार्य गर्न सकिने उल्लेख गरिन्।
हुलाक सिम सेवा लिन ग्राहकले नेपाल टेलिकमको वेबसाइट ntc.net.np मा लगइन गरी ‘Postal SIM’ विकल्प छनोट गर्नुपर्नेछ। त्यसपछि दिइएको निर्देशनअनुसार दर्ता गरी पूरा नाम, जन्ममिति, ठेगाना र नजिकको पहिचानयोग्य स्थान (ल्यान्डमार्क) लगायतका विवरण भर्नुपर्छ।
आवेदनका क्रममा आफ्नो प्रोफाइल फोटो तथा नागरिकता वा राहदानीको अगाडि र पछाडिको स्पष्ट तस्बिर अपलोड गर्नुपर्नेछ। त्यसपछि नजिकको नेपाल टेलिकम काउन्टर छनोट गरी आवेदन पेस गर्न सकिन्छ।
नेपाल टेलिकमले आवेदनमा पेस गरिएका कागजात जाँच गरेपछि एसएमएसमार्फत जानकारी दिनेछ। आवेदन स्वीकृत भए भुक्तानी प्रक्रिया अघि बढाउन सकिनेछ भने विवरण सच्याउनुपर्ने भए आवश्यक संशोधन गर्न सकिनेछ।
नयाँ सिमकार्डका लागि ९० रुपैयाँ र हुलाकमार्फत डेलिभरीका लागि ७० रुपैयाँ गरी कुल १६० रुपैयाँ शुल्क लाग्नेछ। उक्त रकम बैंकिङ एप, डिजिटल वालेट वा नमस्ते पेबाट अनलाइन भुक्तानी गर्न सकिनेछ।
भुक्तानी पूरा भएपछि नेपाल टेलिकमले मोबाइल नम्बर तोकी एसएमएस तथा इमेलमार्फत डेलिभरीसम्बन्धी जानकारी र सिम सक्रिय गर्ने कोड पठाउनेछ। ग्राहकले उक्त कोड सुरक्षित राख्नुपर्नेछ, किनकि सिम सक्रिय गर्न यसको आवश्यकता पर्नेछ।
त्यसपछि ग्राहकको नजिकको हुलाक कार्यालयमार्फत सिमकार्ड पठाइनेछ। सिम कहाँ पुगेको छ भन्ने जानकारी ट्र्याकिङ सुविधाबाट लिन सकिनेछ। हुलाक कर्मचारीले ग्राहकको घरमै पुगेर सिमकार्ड हस्तान्तरण गर्नेछन्। सिम प्राप्त गर्दा ग्राहकले आफ्नो मोबाइल नम्बर तथा आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ।
हुलाकमार्फत प्राप्त सिमकार्ड दुई तरिकाले सक्रिय गर्न सकिने नेपाल टेलिकमले जनाएको छ। पहिलो, सेवा पोर्टलमा लगइन गरी प्राप्त एक्टिभेसन कोड प्रविष्ट गरेर र दोस्रो, नयाँ सिमबाट ८१४१४३ डायल गरेर सिम सक्रिय गर्न सकिनेछ।
हुलाक सिम सेवामा दर्ता गर्ने प्रक्रियादेखि सिमकार्ड प्राप्ति र सक्रियतासम्मको विस्तृत जानकारी नेपाल टेलिकमको आधिकारिक वेबसाइटमा उपलब्ध निर्देशिकाबाट लिन सकिने कम्पनीले जनाएको छ।
यस सेवाले सिमकार्ड लिन टेलिकम कार्यालयसम्म पुग्नुपर्ने बाध्यता कम गर्नुका साथै ग्रामीण तथा दुर्गम क्षेत्रका सेवाग्राहीलाई समेत सहज रूपमा सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend