logo शुक्रबार, असोज ३० २०८३ | Friday 16th October 2026

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा


  • जन आकाश
  • शुक्रबार, असोज ३० २०८३

काठमाडौं ।  नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिने निर्णयसँगै एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।



राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदा देवी थापा, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर, शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्मा रहेका छन् ।

एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश प्रमुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराएका हुन् ।

एमालेले १५ बुँदे सहमतिका आधारमा प्रदेश सरकार सञ्चालन, सुशासन, विकास निर्माण तथा जनहितका विषयलाई सम्बोधन गर्ने उद्देश्यले सरकारलाई समर्थन गरेको जनाएको छ । तर, सहमतिअनुसार सरकार सञ्चालन हुन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको र विकास निर्माणका योजनालाई आवश्यक प्राथमिकता नदिएको एमालेको आरोप छ ।

एमालेले प्रदेश सरकारको बजेटमा समावेश गरिएका महत्त्वपूर्ण विषयसमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको जनाएको छ । सहमति कार्यान्वयनका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा पुगेको एमालेले स्पष्ट पारेको छ ।

एमालेले समर्थन फिर्ता लिएसँगै मधेश प्रदेश सरकारको राजनीतिक समीकरणमा फेरबदल आएको छ । चार मन्त्रीको राजीनामा र समर्थन फिर्ताको निर्णयले प्रदेश सरकारको आगामी राजनीतिक अवस्था थप चासोको विषय बनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend