जन आकाश
काठमाडौं । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुपको ग्रुप भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ। ग्रुपले २०८३ मंसिर २ गते खड्कालाई उक्त पदमा नियुक्त गरेको जानकारी दिएको हो।
नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्ट खड्काले आईएमई ग्रुपअन्तर्गतका विभिन्न व्यवसायबीच रणनीतिक सहकार्यको नेतृत्व गर्नेछन्। समूहका कम्पनीहरूबीच रहेको विशेषज्ञता, प्रविधि, बजार पहुँच र वितरण सञ्जाललाई एकीकृत गर्दै प्रत्येक व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने तथा समग्र समूहको दीर्घकालीन ब्रान्ड मूल्य अभिवृद्धि गर्ने उनको प्रमुख जिम्मेवारी रहनेछ।
त्यसैगरी, नयाँ सेवा तथा साझेदारी विकास, ग्राहक अनुभव सुधार र नेपालको डिजिटल अर्थतन्त्रमा समूहको योगदान विस्तार गर्ने कार्यलाई पनि उनले प्राथमिकता दिनेछन्।
चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खड्कासँग १५ वर्षभन्दा बढी व्यावसायिक कार्यअनुभव छ। उनी यसअघि इसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा कार्यरत थिए। विभिन्न डिजिटल वित्तीय सेवा व्यवसायको नेतृत्व तथा व्यवस्थापनमा समेत उनले अनुभव हासिल गरेका छन्।
आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्ट खड्कालाई स्वागत गर्दै उनको नेतृत्वमा समूहका कम्पनीहरू थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। उनले डिजिटल रूपान्तरणलाई विस्तार गर्दै नयाँ व्यावसायिक अवसर सिर्जना गर्न खड्काको अनुभव महत्त्वपूर्ण हुने बताएका छन्।
नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्ट खड्काले पनि आईएमई ग्रुपका प्राथमिकता र सरोकारवालासँगको सहकार्यमा परिणाममुखी काम गर्न आफ्नो ध्यान केन्द्रित रहने बताएका छन्।
नेपालको अग्रणी व्यावसायिक समूहका रूपमा रहेको आईएमई ग्रुपले रेमिट्यान्स, बैंकिङ तथा बीमा, डिजिटल वित्तीय सेवा, पर्यटन तथा आतिथ्यता, केबलकार, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, खेलकुद, उत्पादन तथा व्यापारलगायत विभिन्न क्षेत्रमा लगानी र व्यवसाय विस्तार गर्दै आएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend