जन आकाश
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको संरक्षणमा रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने पक्षमा एमाले नरहेको बताएका छन्। उनले सरकारका गलत कामको सशक्त प्रतिवाद गर्दै राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित र जनताको अधिकारको रक्षाका लागि स्वतन्त्र प्रतिपक्षका रूपमा उभिने बताएका हुन्।
बिहीबार काठमाडौंमा जारी एमालेको राष्ट्रिय कार्यकर्ता भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले नेकपा एमाले अहिले पनि देशको प्रमुख प्रतिपक्षी शक्ति रहेको दाबी गरे।
उनले निर्वाचनअघि नै प्रतिकूल राजनीतिक वातावरण सिर्जना गरिएको र एमालेलाई राजनीतिक रूपमा एक्ल्याउने प्रयास भएको आरोप लगाए। प्रतिकूल परिस्थिति हुँदाहुँदै पनि पार्टीले निर्वाचनमा सहभागिता जनाएको उनको भनाइ थियो।
ओलीले निर्वाचनमा एमालेले व्यहोरेको पराजयलाई जनताबाट टाढिएको परिणामका रूपमा मात्र व्याख्या गर्न नमिल्ने जिकिर गरे। निर्वाचनअघि असामान्य राजनीतिक परिस्थिति सिर्जना गरिएको भन्दै उनले संसद्को विघटन र त्यसबेला न्यायालयले खेलेको भूमिकामाथि समेत प्रश्न उठाए।
उनले भने, ‘गएको निर्वाचनमा हाम्रो लज्जास्पद हार भयो। तर यसको कारण जनताबाट टाढिनु मात्र थिएन। निर्वाचनअघि नै भयावह र असामान्य राजनीतिक वातावरण सिर्जना गरिएको थियो। संसद्को असंवैधानिक विघटनलाई किन स्वीकार गरियो? त्यसविरुद्ध किन आवाज उठाइएन? संविधान र कानुनअनुसार न्यायिक निर्णय किन भएन? यी प्रश्नहरूको गम्भीर समीक्षा हुनुपर्छ।’
निर्वाचनको वातावरण उपयुक्त नभएको भन्दै एमालेले सुरुदेखि नै आवाज उठाए पनि निर्वाचन बहिष्कार नगरेको उनले स्पष्ट पारे। निर्वाचनमा सहभागी नभएको भए पार्टीमाथि थप गलत व्याख्या र प्रहार हुन सक्ने भएकाले प्रतिकूल अवस्थामा पनि चुनावमा गएको उनको भनाइ थियो।
विभिन्न शक्ति लागेर एमालेलाई समाप्त पार्न खोजिएको आरोप लगाउँदै ओलीले पार्टी अझै बलियो अवस्थामा रहेको दाबी गरे।
यसैबीच, ओलीले टर्कीमा आयोजित जलवायु परिवर्तनसम्बन्धी कोप सम्मेलनमा नेपालको सहभागितालाई लिएर सरकारको आलोचना गरेका छन्। उनले नेपालको सहभागिता कमजोर रहेको टिप्पणी गर्दै जलवायु परिवर्तनको मुद्दा पर्यटनसँग मात्र नभई हिमाल, हिमनदी, जल पुनर्भरण प्रणाली तथा समग्र जनधनको सुरक्षासँग जोडिएको बताए।
हिमालको संरक्षण नेपालको मात्र नभई विश्वव्यापी सरोकारको विषय भएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न गम्भीर पहल आवश्यक रहेको धारणा राखे।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend