जन आकाश
-जयराम बिडारी
मङ्सिर २, काठमाडौँ
नेपालको शास्त्रीय सङ्गीतमा रागहरु,राग सङ्गीत अंग्रेजी भाग १ र २ प्रकाशित गरी सितारविदुषीका रुपमा प्रख्यात प्रथम महिला हाइकुकार विजया शर्माको दोस्रो साहित्यिक कृति ‘सितारका झङ्कार’ (सुसेली तथा हाइकु सङ्ग्रह) को एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ ।
मञ्जुश्री साहित्यिक समाजको सम्योजन तथा शर्मा परिवारको आयोजनामा काठमाडौँको लाजिम्पाटस्थित दुषित प्रिन्सेस होटलमा आयोजित भव्य कार्यक्रमका बीच उक्त कृतिको विमोचन गरिएको हो ।
समाजका अध्यक्ष डा. बमबहादुर थापा ‘जिताली’को सभापतित्व तथा वरिष्ठ साहित्य साधक प्राध्यापक रामकुमार पाँडेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि वरिष्ठ लोकगायिका चन्द्रकला शाह, लेखिकाकी छोरी डा.बानु शर्मा, नाति रोहित तथा नातिनीहरू निहारिका र बिनद्वारा संयुक्त रूपमा कृतिको विमोचन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पाँडेद्वारा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरिएको कार्यक्रममा श्रद्धा शर्माद्वारा शब्दपुष्पमार्फत उपस्थित अभ्यागतहरूलाई स्वागत गरिएको थियो ।
मन्तव्यका क्रममा प्रमुख अतिथि प्राध्यापक रामकुमार पाँडेले लेखिका विजया शर्माले ८४औँ वसन्तमा पनि नेपाली हाइकु लेखनलाई जीवन्त तुल्याउनुभएको उल्लेख गर्दै उहाँ नेपाली हाइकु लेखनको इतिहासमा अग्रणी महिला हाइजिन रहेको बताउनुभयो । शर्माले ८१ वर्षको उमेरमा आफ्नो पहिलो कृति ‘विजया शर्माका सिर्जना’ (हाइकु तथा ताँकामाला) प्रकाशन गर्नुभएको स्मरण गर्दै प्रा. पाँडेले हाल ८४ वर्षको उमेरमा समेत निरन्तर साहित्य सिर्जनामा समर्पित रहनु सबैका लागि प्रेरणादायी र उदाहरणीय साधना भएको धारणा राख्नुभयो ।
हाइकु विधाको ऐतिहासिक पृष्ठभूमिमाथि प्रकाश पार्दै प्रा. पाँडेले वि.सं. २०१७ मा शङ्कर लामिछानेमार्फत नेपालमा हाइकु भित्रिएको स्मरण गर्नुभयो । जापानबाट सुरु भएको र १७ अक्षरमा टुङ्गिने यो विधा विश्व साहित्यमै लोकप्रिय रहेको चर्चा गर्दै उहाँले आफू जापान जाँदा यस विधामा थप खोज तथा अनुसन्धान गर्ने अवसर पाएको बताउनुभयो ।
उहाँले विजया शर्मा यस उमेरमा हाइकु लेख्ने सम्भवतः पहिलो महिला स्रष्टा रहेको उल्लेख गर्दै ऋतु बिम्बलाई प्रमुखताका साथ उठान गरिने हाइकुले पाठक र स्रोतालाई गहिरो चिन्तन गर्न बाध्य पार्ने विचार व्यक्त गर्नुभयो । गहिरो दृष्टि, अवलोकन र उच्च चेतना प्रकट गर्ने हाइकुले मानव मस्तिष्कमा एक प्रकारको शान्ति प्रदान गर्ने बताउँदै प्रा. पाँडेले जापानी प्रतियोगितामा प्रथम भएको आफ्नो सिर्जनासहित तीनवटा हाइकु वाचनसमेत गर्नुभएको थियो । सोही अवसरमा उहाँले बनेपामा आयोजना हुन लागेको हाइकुसम्बन्धी आगामी कार्यक्रमको समेत जानकारी गराउनुभयो ।
यसैगरी, प्रकाशन संस्थाका तर्फबाट तथा कार्यक्रमका सभापति डा.जितालीले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै ‘विजया शर्माको सिर्जना’ नामक पहिलो कृति २०८१ सालमा मञ्जुश्री साहित्य प्रतिष्ठानबाट प्रकाशित भएको स्मरण गर्नुभयो । उहाँले सोही समाजबाट दोस्रो कृतिका रूपमा ‘सितारका झङ्कार’ समेत प्रकाशन गर्ने जिम्मेवारी पाउनु सुखद संयोग रहेको बताउनुभयो ।साथै, डा.जितालीले साहित्य र सङ्गीतको यस सुमधुर सङ्गमलाई सफल बनाउन उपस्थित सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै कृति सफलताको शुभकामना दिनुभएको थियो ।
समारोहमा डा. बानु शर्माले विमोचित कृतिमाथि प्रकाश पार्नुभएको थियो । साहित्यसँगै सङ्गीतको समेत सुमधुर सङ्गम रहेको उक्त कार्यक्रममा डा.सागर प्रसाईँद्वारा प्रसिद्ध तबला वादक डा.निशिकान्त सोनवलकरको संक्षिप्त परिचय प्रस्तुत गरेलगत्तै तबलावादक डा. सोनवलकारले नेपाली तथा भारतीय गीतका सुमधुर धुनहरूमा विशेष तबला वादन प्रस्तुत गरी उपस्थित दर्शक तथा श्रोतालाई मन्त्रमुग्ध पारेका थिए भने सृजना प्रसाईं खड्काले उनलाई सितार वादनमा साथ दिंदा सुमधुर सङ्गीतमय माहौल निर्माण भएको थियो ।
शर्माका परिवारजन, इष्टमित्र तथा उल्लेख्य सङ्ख्यामा साहित्यकारहरुको गरिमामय उपस्थिति रहेको सो समारोहमा डा. नील पाण्डेद्वारा कुशलतापूर्वक सहजीकरण गरिएको थियो । कार्यक्रमको अन्त्यमा ममता सोनवलकरद्वारा उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend