जन आकाश
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल मात्रै सहभागी हुने भएका छन्।
उच्च सरकारी स्रोतका अनुसार यसअघि प्रधानमन्त्रीसँगै पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसमेत भारत जाने विषयमा छलफल भएको थियो। तर पछिल्लो तयारीअनुसार अर्थ र परराष्ट्रमन्त्री मात्रै भ्रमण टोलीमा सहभागी हुने टुंगो लागेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री शाह नोभेम्बर २२ मा भारत जाने र नोभेम्बर २३ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल र भारतबीच हवाई प्रवेशमार्ग, ऊर्जा तथा भौतिक पूर्वाधारसम्बन्धी महत्त्वपूर्ण समझदारी हुने अपेक्षा गरिएको थियो। यही सम्भावनालाई ध्यानमा राख्दै सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई समेत भ्रमण टोलीमा समावेश गर्ने विषयमा छलफल भएको थियो।
तर पर्यटन, ऊर्जा र पूर्वाधारमन्त्रीहरू भ्रमणमा सहभागी नहुने भएपछि ती क्षेत्रसँग सम्बन्धित सम्झौता तथा समझदारी हुने सम्भावना कम रहेको सरकारी स्रोतको आकलन छ।
विशेषगरी नेपालले भारतसँग थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन आग्रह गर्दै आएको छ। पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भारत हुँदै आउने अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन थप हवाई प्रवेशमार्ग आवश्यक रहेको नेपालको भनाइ छ।
त्यस्तै, ऊर्जा व्यापार तथा पूर्वाधार विकासका विभिन्न आयोजना पनि नेपाल–भारतबीच छलफल हुँदै आएका प्रमुख विषय हुन्।
प्रधानमन्त्रीको भ्रमण टोलीमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरू सहभागी नहुने भएपछि यी विषयमा हुने सम्भावित छलफल, सम्झौता तथा समझदारीको प्रक्रियामा कस्तो प्रभाव पर्छ भन्ने विषय भने स्पष्ट भइसकेको छैन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend