logo शुक्रबार, मंसिर ४ २०८३ | Friday 20th November 2026
logo

शुक्रबार, मंसिर ४ २०८३ | Friday 20th November 2026

सरकारी कम्पनीका करिब एक हजार मेगावाटका आयोजनासँग विद्युत खरिद सम्झौता (पीपीए) हुँदै


  • जन आकाश
  • बिहिबार, मंसिर ३ २०८३

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सरकारको स्वामित्वमा रहेका विभिन्न विद्युत् उत्पादन कम्पनीसँग विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशनमा प्राधिकरणले करिब एक हजार मेगावाट क्षमताका सरकारी आयोजनासँग पीपीए गर्न लागेको हो।



प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले सरकारी स्वामित्वका कम्पनीहरूसँग पीपीए गर्ने तयारी पूरा भएको जानकारी दिएका छन्। उनका अनुसार यसै हप्ताभित्र प्राधिकरणको सञ्चालक समितिबाट यससम्बन्धी निर्णय हुनेछ।

शाहीका अनुसार २१० मेगावाटको चैनपुर सेती, ७० मेगावाटको सिम्बुवा, ४३९ मेगावाटको बेतन कर्णाली, १२४ मेगावाटको जगदुल्ला ए, ३० मेगावाटको विद्युत् उत्पादन कम्पनीको सोलार आयोजना, ४५४ मेगावाटको किमाथांका र ७७ मेगावाटको चिलिमे सेती आयोजनासँग पीपीए गर्ने तयारी गरिएको छ।

पीपीए सम्पन्न भएपछि सरकारी कम्पनीहरूले लगानी जुटाउने, आवश्यक पूर्वाधार निर्माण गर्ने र विद्युत् उत्पादनको कामलाई तीव्रता दिने अपेक्षा गरिएको छ। ती आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले खरिद गर्नेछ।

ऊर्जामन्त्री श्रेष्ठले सरकारी विद्युत् उत्पादन कम्पनीहरूमा राज्यको दायित्व बढ्दै गएको भन्दै तत्काल पीपीए प्रक्रिया अघि बढाउन प्राधिकरणलाई निर्देशन दिएका थिए। उनले सरकारी कम्पनीसँगै निजी क्षेत्रका विद्युत् आयोजनाको पीपीए पनि अगाडि बढाउन निर्देशन दिएका छन्।

मन्त्री श्रेष्ठको निर्देशनपछि प्राधिकरणले सरकारी तथा निजी क्षेत्रका आयोजनासँग चरणबद्ध रूपमा विद्युत् खरिद सम्झौता गर्ने प्रक्रिया अघि बढाएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend