जन आकाश
काठमाडौं । बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले आफूलाई सेवाबाट हटाउने सरकारको निर्णयविरुद्ध पुनरावेदन निवेदन दिएका छन्।
दाहालले गृह मन्त्रालयमा निवेदन दिँदै आफूलाई बर्खास्त गर्ने निर्णयमाथि पुनर्विचार गर्न माग गरेका हुन्। सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार विभागीय कारबाहीमा परेका व्यक्तिले ३५ दिनभित्र पुनरावेदन गर्न पाउने व्यवस्था छ। सोही समयसीमाभित्र दाहालले निवेदन दिएको स्रोतले जनाएको छ।
नियमअनुसार एआईजी तहका अधिकारीलाई विभागीय कारबाहीको सजाय आदेश दिने अधिकारी गृहमन्त्री हुन् भने पुनरावेदन सुन्ने अधिकारी नेपाल सरकार रहने व्यवस्था छ। त्यसैले दाहालको निवेदनमाथि मन्त्रिपरिषद्ले निर्णय गर्नेछ।
सरकारले गत असोज २३ गते आचरणसम्बन्धी विषय पटक–पटक उल्लंघन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मानप्रतिष्ठा र छविमा आँच पुर्याएको आरोपमा दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको थियो।
चारवर्षे पदावधिका कारण दाहाल असोज २७ गते अवकाशमा जाँदै थिए। तर अवकाश हुनुअघि नै सरकारले उनीमाथि विभागीय कारबाही गरेको थियो।
इनाम सापकोटा नाम गरेका व्यक्तिसँग सुरक्षासम्बन्धी संवेदनशील विषयमा कुराकानी भएको देखिएपछि सरकारले दाहालमाथि कारबाही गरेको थियो। सापकोटा हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।
यसै प्रकरणसँग जोडिएको घटनाक्रममा प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई समेत पक्राउ गरी करिब १२ घण्टापछि रिहा गरेको थियो। त्यसबीच राति नै एआईजी दाहाल जबरालाई भेट्न पुगेका थिए।
अब दाहालको पुनरावेदन निवेदनमाथि मन्त्रिपरिषद्ले गर्ने निर्णयले उनको सेवाबाट बर्खास्तीसम्बन्धी विवादको आगामी अवस्था तय गर्नेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend