logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

चीनले पनि थाल्यो ‘हिमालयन क्वाड बनाउने अभियान


  • जन आकाश
  • शनिबार, बैशाख ४ २०७८

 



काठमाडौं । अमेरिकी नेतृत्वमा गठन भएको एसियाली मुलुकहरुको गठबन्धन क्वाडलाई चुनौति दिन चीनले समानान्तर गठबन्धनको तयारी सुरु गरेको जनाइएको छ ।

हङकङको प्रतिष्ठित अखबार साउथ चाइना मर्निङ पोस्टले शनिबारिय संस्करणमा नेपाल, पाकिस्तान र अफगानिस्तानलाई समेटेर चीन ‘हिमालय क्वाड’ गठबन्धन निर्माणको अन्तिम तयारीमा जुटेको खबर प्रकाशित भएको नेपालका सञ्चारमाध्यमले जनाउन थालिसकेका छन् ।

नेपालका सञ्चारमाध्यमले उल्लेख गरे अनुसार अप्रिल पहिलो साता भारतको अब्जर्भर रिसर्च फाउन्डेसनद्वारा प्रकाशित एक आलेखमा बेलारुसको रणनीति मामिलाका जानकार युरी यार्मोलिन्स्कीले अमेरिकी नेतृत्वको क्वाडलाई काउन्टर दिन चीनले तीन हिमाली राष्ट्रलाई समेटेर ‘हिमालयन क्वाड’ गठबन्धन थालेको उल्लेख छ ।

भारतका लागि पूर्व बेलारुसका राजदूत समेत रहेका युरीले तत्कालका लागि चीनले बनाउने भनेको उक्त गठबन्धन सिद्धान्तमा मात्र सीमित रहेको तर, कुनै विन्दुमा पुगेर त्यो वास्तविकतामा परिणत हुनसक्ने बताउँछन् ।

 

त्यो वास्तविकता भनेको साउथ चाइन सीमा हुनसक्ने अमेरिका र उसका साझेदार मुलुकहरुको सम्भावित सैन्य हस्तक्षेप, ताइवानको स्वतन्त्रता दिलाउन हुनसक्ने सैन्य सहयोगहरु लगायत छन् । तर, अमेरिकी नेतृत्वको क्वाडले ती वास्तविकताको रेखा पार नगर्ने र चीनको उक्त गठबन्धन सिद्धान्तमा मात्र सीमित हुनसक्ने तर्क ती कुटनीतिज्ञको छ ।

नेपालले चीनबाट प्रत्क्ष वैदेशिक सहायता र आर्थिक सहयोग प्राप्त गरेको र आफ्नो सीमा नजिकको नेपाली भूभागमा उसले अर्धसैन्य बलको तालिम केन्द्र स्थापना गरेको सन्दर्भ पनि उक्त समाचारमा उल्लेख छ । नेपाल र चीन दुबै मुलुकका सेनाले विगतमा संयुक्त सैन्य अभ्यास गरेको पनि उल्लेख छ ।

यस्तै, पाकिस्तानसँग आर्थिक करिडोरमा चीनले मद्दत गरेको र अफगानिस्तानले सिन्जियाङ प्रान्तको राजनीतिक स्थिरतमा सघाएको विश्लेषण पनि उक्त समाचारमा लेखिएको छ । चीनका रक्षामन्त्रीले सन् २०१८ मा अफगानिस्तानको प्रतिरक्षा क्षेत्रमा ७० मिलियन डलरभन्दा बढी सहायता उपलब्ध गराएको बताएका थिए ।

चीनको हिमालयन क्वाड अवधारणा क्षेत्रीयरुपमा भारतलाई सन्तुलनमा राख्ने एउटा रणनीति भएको पनि जनाइएको छ । दक्षिण एसियामा प्रभुत्व विस्तार गर्नको लागि चीनले यी तीन मुलुकमा क्वाड संवाद र अन्तक्रिया बढाएको र त्यसलाई संस्थागत बाटोमा चीन अघि बढेको समेत जनाइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend