logo बिहिबार, कार्तिक ६ २०८३ | Thursday 22nd October 2026

इजरायलमा गाजा युद्धपछिको पहिलो निर्वाचन


  • जन आकाश
  • बुधबार, कार्तिक ५ २०८३

इजरायलमा अक्टोबर २७ मा २६औँ नेसेट (संसद) चुन्न आम निर्वाचन हुँदैछ, जसमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहु भ्रष्टाचारको आरोप खेपिरहेकै अवस्थामा पुनः प्रतिस्पर्धा गर्दैछन्।



यस निर्वाचनमा करिब ७३ लाख इजरायली नागरिक मतदान गर्न योग्य छन्, तर गाजा, वेस्ट बैंक र पूर्वी जेरुसेलमका करिब ३० लाख वयस्क प्यालेस्टिनीहरूले मतदान गर्न पाउँदैनन्।

यस निर्वाचन चक्रमा अक्टोबर ७ को सुरक्षा विफलता, अति (रूढिवादीलाई सैन्य सेवामा छुट, न्यायिक सुधार, युद्ध र सुरक्षा, र महँगी जस्ता मुख्य मुद्दाहरू छन्।

तेल अभिभ । गाजामा प्यालेस्टिनीहरूमाथिको नरसंहार र लेबनान तथा इरानमाथिको युद्धपछिको पहिलो आम निर्वाचनमा २६औँ नेसेट (संसद) चुन्न इजरायलीहरू अक्टोबर २७ मा मतदान गर्दैछन्।

इजरायलको इतिहासमा सबैभन्दा लामो समय (१९ वर्ष) प्रधानमन्त्री बनेका बेन्जामिन नेतन्याहु भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेकै अवस्थामा अर्को कार्यकालका लागि प्रतिस्पर्धा गर्दैछन्। उनको लिकुड पार्टी र यसले नेतृत्व गरेको अति(दक्षिणपन्थी गठबन्धन यहुदी(नेतृत्वको विपक्षी ब्लकसँग कडा प्रतिस्पर्धामा छ। १२० सिट भएको इजरायली संसद् (नेसेट) मा कुनै पनि पक्षले स्पष्ट बहुमत ल्याउने छाँटकाँट देखिएको छैन।

इजरायलको केन्द्रीय निर्वाचन समितिका अनुसार १८ वर्ष र सोभन्दा माथिका करिब ७३ लाख मानिस मतदान गर्न योग्य छन्। अधिकांश मतदान केन्द्रहरू बिहान ७ बजेदेखि राति १० बजेसम्म खुला रहन्छन्। मतदान केन्द्र बन्द हुने समयमा लाइनमा बसिरहेका जोकोहीले पनि मतदान गर्न पाउँछन्। निर्वाचनको दिन सार्वजनिक बिदा दिइएको छ।

३.२५ प्रतिशतको मतसीमा (थ्रेसहोल्ड) पार गर्ने जुनसुकै पार्टी संसदमा प्रवेश गर्छ र संसदको कार्यकाल चार वर्षको हुन्छ। प्रधानमन्त्रीका लागि कुनै कार्यकालको सीमा तोकिएको छैन।

मतदान प्रक्रिया कसरी हुन्छ
इजरायलीहरूले उम्मेदवारलाई नभई पार्टीलाई मतदान गर्छन्।

बहुमतका लागि १२० मध्ये ६१ सिट आवश्यक पर्छ। अहिलेसम्म कुनै पनि पार्टीले स्पष्ट बहुमत हासिल गरेको छैन। पहिलो हुँदैमा सत्ता प्राप्त हुन्छ भन्ने निश्चित हुँदैन। त्यसपछि दलहरूसँग ६१ सिट पुर्‍याएर गठबन्धन बनाउन २८ दिनको समय हुन्छ। आवश्यकता अनुसार थप १४ दिनसम्मको म्याद थप्न सकिन्छ। कसैले पनि बहुमत पुर्‍याउन नसके देशमा पुनः निर्वाचन हुन्छ। झण्डै झण्डै नेपालमा जस्तै व्यवस्था इजरालमा पनि छ ।

राष्ट्रिय मतको अनुपातमा प्रत्येक पार्टीलाई सिट बाँडफाँट गरिन्छ। जस्तै, ३० प्रतिशत मत ल्याउने पार्टीले लगभग ३० प्रतिशत नै सिट प्राप्त गर्छ। ३.२५ प्रतिशत मत ल्याउन नसक्ने पार्टीहरूको मत बदर हुन्छ। यसैकारण हरेक चुनावअघि साना दलहरू एकआपसमा गाभिने गर्छन्।

कसले मतदान गर्न पाउँछन् र कसले पाउँदैनन् ?
यस निर्वाचनमा करिब ७३ लाख इजरायली नागरिक मतदान गर्न योग्य छन्। तर, उनीहरूले चुन्ने सरकारको अधीनमा रहने वयस्कहरू उनीहरू मात्र भने होइनन्।

गाजा, अतिक्रमित (अकुपाइड) वेस्ट बैंक र अतिक्रमित पूर्वी जेरुसेलममा रहेका करिब ३० लाख वयस्क प्यालेस्टिनीहरूले मतदान गर्न पाउँदैनन्। तर, त्यही सरकारले उनीहरूको सिमाना, आवतजावत र कानुनी हैसियत नियन्त्रण गर्छ।

यहुदी इजरायली र इजरायलका करिब १२ लाख प्यालेस्टिनी नागरिकले मतदान गर्न पाउँछन्। त्यसैगरी, अतिक्रमित वेस्ट बैंक र पूर्वी जेरुसेलममा बसोबास गर्ने ७ लाख ५० हजारभन्दा बढी इजरायलीहरूमध्येका वयस्क बसोबासकर्ता (सेटलर्स) ले पनि मतदान गर्न पाउँछन्। उनीहरूले आफू बसेको भूमिमाथि कानुन बनाउने संसद चुन्न मद्दत गर्छन्।

अतिक्रमित पूर्वी जेरुसेलमका अधिकांश प्यालेस्टिनीहरूसँग इजरायली बसोबासको अनुमति (रेसिडेन्सी) मात्र छ, नागरिकता छैन। उनीहरूले जेरुसेलमको नगर परिषद्का लागि मतदान गर्न सक्छन् तर नेसेटका लागि मतदान गर्न पाउँदैनन्।

यसको परिणाम अतिक्रमित वेस्ट बैंकमा गम्भीर विसंगतिको रूपमा देखिन्छ। त्यहाँ एउटै सैन्य अधिकारीको शासनमा रहे पनि एक इजरायली बसोबासकर्ताले भोट हाल्न पाउँछन्, तर नजिकै बस्ने प्यालेस्टिनी परिवारले भोट हाल्न पाउँदैनन्।

विदेशमा बस्ने अधिकांश इजरायली नागरिकले पनि मतदान गर्न पाउँदैनन्। इजरायलमा हुलाक वा अनुपस्थित मतदानको व्यवस्था छैन र चुनावको दिन मतदाताहरू देशभित्रै उपस्थित हुनुपर्छ। कूटनीतिज्ञ र सरकारी प्रतिनिधिहरू भने यसको अपवाद हुन्। उनीहरूले अक्टोबर २० मै इजरायली नियोगहरूबाट मतदान गरिसकेका छन्।

मुख्य मुद्दाहरू के के हुन् ?
यस निर्वाचन चक्रमा इजरायलीहरूले विभिन्न घरेलु र अन्तर्राष्ट्रिय मुद्दाहरूको सामना गरिरहेका छन्, जसमा निम्न विषयहरू समावेश छन् ।

अक्टोबर ७ को सुरक्षा विफलता अक्टोबर ७, २०२३ को घटनाको तीन वर्ष बितिसक्दा पनि सरकारले राज्यस्तरीय छानबिन आयोग गठन गरेको छैन। हमासको नेतृत्वमा भएको उक्त आक्रमणमा करिब १,२०० मानिस मारिएका थिए भने करिब २५० जनालाई बन्धक बनाइएको थियो। सो आक्रमणको बदलामा इजरायलले प्यालेस्टिनीहरूविरुद्ध नरसंहारकारी युद्ध सुरु गर्‍यो। यसमा कम्तीमा ७४,००० मानिस मारिएका छन् र घेराबन्दीमा परेको अधिकांश क्षेत्र खण्डहरमा परिणत भएको छ।

अति(रूढिवादीलाई सैन्य सेवामा छुट यस छुटका समर्थकहरूले यसबाट पूर्णकालीन तोराह (धर्मग्रन्थ) अध्ययनको संरक्षण हुने बताउँछन्। तर, आलोचकहरूले यसले गर्दा अरू सबैमाथि अनुचित सैन्य बोझ थोपरिएको तर्क गर्छन्।

न्यायिक सुधारः सर्वोच्च अदालतको अधिकार कटौती गर्ने नेतन्याहुको कदम गहिरो विवादको विषय बनेको छ। गाजा युद्धअघि यसै विषयलाई लिएर ठूलो जनप्रदर्शन भएको थियो। आलोचकहरू यसलाई लोकतन्त्रमाथिको खतरा मान्छन्, जबकि समर्थकहरू अदालतले आफ्नो अधिकार नाघेको तर्क गर्छन्।

युद्ध र सुरक्षाः जनता स्थिरता चाहन्छन्। तर गाजा, अतिक्रमित वेस्ट बैंक र लेबनानमा सम्झौता गर्ने कुरामा उनीहरू सशंकित छन्। नेतन्याहुले ‘पूर्ण विजय’ को बाचा गरेका थिए, यद्यपि हमास र हिजबुल्लाह अझै सक्रिय छन्।

महँगीः उच्च मूल्यवृद्धि र न्यून ज्यालाको मारमा परेका जनतालाई बढ्दो रक्षा खर्चले थप चेपुवामा पारेको छ। सन् २०२३ यता इजरायलको रक्षा बजेट दोब्बर भएको छ। यसले सार्वजनिक वित्तमा दबाब बढाएको छ।

इजरायलको निवर्तमान सरकार
जुलाईमा संसद् विघटन हुँदा १२० सिटमध्ये नेतन्याहुको गठबन्धनसँग ६० सिट थियो। जसमा लिकुड पार्टीको ३२, शासको ११, रिलिजियस जियोनिजमको ७, इटामार बेन(गभिरको ओत्ज्मा येहुदितको ६ र न्यु होपको ४ सिट थियो। शास पार्टी जुलाई २०२५ मा सरकारबाट बाहिरिए पनि गठबन्धनमै रह्यो। न्यु होप पार्टी भने यस चुनावका लागि लिकुडमा गाभिनेछ।

विपक्षीसँग ५९ सिट थियो। जसमा यस अतीदको २४, ब्लु एन्ड ह्वाइटको ८, युनाइटेड तोराह जुडाइजमको ७, यिस्रायल बेतेनुको ६, हदाश(ताल र राम Raam को ५/५ तथा लेबर पार्टीको ४ सिट थियो। नोआम पार्टीको १ सिट भने स्वतन्त्र (कुनै पक्षमा नखुलेको) थियो।

मुख्य प्रतिस्पर्धीहरू को हुन् ?
नेतन्याहु भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेकै अवस्थामा पुनः चुनाव लड्दैछन्। यद्यपि, उनले उक्त आरोप अस्वीकार गर्दै आएका छन्।

उनको अति(दक्षिणपन्थी गठबन्धनले चार प्रमुख यहुदी(नेतृत्वका विपक्षी दलहरूको ब्लकको सामना गरिरहेको छ। ती विपक्षी दलका नेताहरूले चुनावअघि एकअर्कालाई आलोचना नगर्ने र चुनावपछि सरकार बनाउन एकजुट हुने घोषणापत्रमा हस्ताक्षर गरेका छन्।

पूर्व सेना प्रमुख गाडी आइसेनकोटलाई विपक्षीको तर्फबाट प्रधानमन्त्रीको सम्भावित उम्मेदवारको रूपमा हेरिएको छ। जनमत सर्वेक्षणहरूमा उनको नयाँ यसार पार्टीले लिकुडसँग कडा टक्कर दिइरहेको छ।

विपक्षी गठबन्धनमा पूर्व प्रधानमन्त्रीद्वय नाफ्ताली बेन्नेट र याइर ल्यापिडको नेतृत्वमा रहेको टुगेदर लिस्ट, एभिग्डोर लिबरम्यानको यिस्रायल बेतेनु र याइर गोलानको डेमोक्र्याट्स पार्टी समावेश छन्।

अन्य मुख्य खेलाडीहरूमा अति(दक्षिणपन्थी मन्त्रीहरू इटामार बेन(गभिर र बेजालेल स्मोट्रिच, अति(रूढिवादी पार्टीहरू र अरब(बहुल राम तथा ज्वाइन्ट लिस्ट रहेका छन्।

गत महिना इजरायलको केन्द्रीय निर्वाचन समितिले राम र ज्वाइन्ट लिस्टलाई चुनाव लड्नबाट प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। तर, अक्टोबर २ मा सर्वोच्च अदालतले बहिष्कारका लागि कानुनी आधार पुग्ने प्रमाण नभएको भन्दै उक्त प्रतिबन्धलाई सर्वसम्मतिले खारेज गरिदियो।

ज्वाइन्ट लिस्ट अन्तर्गतको एउटा पार्टी बलदको नेतृत्व गर्ने इजरायली(प्यालेस्टिनी नागरिक सामी अबु शेहादेह दौडबाट पछि हटेका छन्। अदालतका बहुमत न्यायाधीशहरूले उनको अयोग्यतालाई कायम राख्ने संकेत गरेपछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

चुनावपछि अरब(नेतृत्वका पार्टीहरूले शक्ति सन्तुलन कायम राख्न सक्छन्। तर, यहुदी(नेतृत्वको विपक्षी ब्लकका अधिकांश नेताहरूले उनीहरूसँग सहकार्य गर्ने सम्भावनालाई अस्वीकार गरेका छन्।

सात वर्षमा छैटौँ निर्वाचन
सन् २०१९ यता अक्टोबर २७ मा हुन लागेको यो इजरायलको छैटौँ राष्ट्रिय निर्वाचन हो। तर, नेसेट (संसद) को पूर्ण कार्यकाल सकिएर प्राकृतिक रूपमा चुनाव हुन लागेको भने ३८ वर्षपछिको यो पहिलो पटक हो।

अप्रिल २०१९ मा नेतन्याहुको लिकुड पार्टी र बेनी गान्त्जको ब्लु एन्ड ह्वाइट पार्टीले समान ३५/३५ सिट ल्याएपछि राजनीतिक अस्थिरता सुरु भएको थियो। सोही वर्षको सेप्टेम्बरमा भएको दोस्रो चुनावमा ब्लु एन्ड ह्वाइटले ३३ र लिकुडले ३२ सिट ल्याए र अर्को गतिरोध उत्पन्न भयो। दुवै चरणमा बहुमतको गठबन्धन बन्न सकेन।

मार्च २०२० को तेस्रो चुनावमा लिकुडले ३६ र ब्लु एन्ड ह्वाइटले ३३ सिट प्राप्त गरे। यसपछि नेतन्याहु र गान्त्जको एकता सरकार बन्यो, तर त्यो एक वर्षभित्रै ढल्यो। मार्च २०२१ मा लिकुडले ३० र यस अतीदले १७ सिट जिते। अरब पार्टी ‘राम’ समेत सम्मिलित नाफ्ताली बेन्नेट र याइर ल्यापिड नेतृत्वको आठ दलीय गठबन्धनले नेतन्याहुको १२ वर्षे शासनको अन्त्य गर्‍यो। तर, यो सरकार पनि एक वर्ष मात्र टिक्यो।

लिकुडको ३२ र यस अतीदको २४ सिटसहित नोभेम्बर २०२२ मा नेतन्याहु इजरायलको सबैभन्दा दक्षिणपन्थी भनिएको सरकारको नेतृत्व गर्दै सत्तामा फर्किए। अहिलेका सर्वेक्षणहरूले कुनै पनि गठबन्धनले स्पष्ट रूपमा ६१ सिट पुर्‍याउने देखाएका छैनन्।

इजरायलका प्रधानमन्त्रीहरू
सन् १९४८ मा स्थापना भएयता इजरायलमा १४ जना प्रधानमन्त्री बनेका छन्। तीन छुट्टाछुट्टै कार्यकाल (१९९६(१९९९, २००९(२०२१ र २०२२ देखि हालसम्म) गरी १९ वर्ष सत्तामा रहेका नेतन्याहु अहिलेसम्मकै सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री हुन्।

सन् १९४८ देखि १९५४ सम्म र पुनः १९५५ देखि १९६३ सम्म देशको नेतृत्व गरेका डेभिड बेन(गुरियन मात्र उनको रेकर्डको नजिक छन्।

अक्टोबर २७ मा जेजस्तो परिणाम आए पनि नयाँ सरकारले शपथ नलिएसम्म नेतन्याहु कामचलाउ प्रधानमन्त्रीको रूपमा रहिरहनेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend