जन आकाश
रामेछाप । रामेछाप जिल्लामै पहिलो पटक रामेछाप नगरपालिका वडा नं ३ मा रहेको साँघुटार स्वास्थ्य चौकी पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा भएको छ । रामेछाप नगरपालिकाको स्वास्थ्य शाखाको अगुवाईमा उक्त स्वास्थ्य चौकीलाई पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा गरिएको हो ।
पूर्ण पोषणयुक्त घोषणाका लागि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको, ६ महिनासम्म बच्चाले आमाको दूध मात्रै खाएको, प्रत्येक महिना बच्चाको तौल लिएको र ५ वर्षमुनीका बालबालिकाले वर्षमा दुईपटक भिटामिन ‘ए’ र जुकाको औषधी खाएको लगायतका सबै मापदण्ड पुरा गरेकाले साँघुटार स्वास्थ्य चौकी पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा भएको हो ।
यसका साथै १ वर्षभित्र वडामा कुनै पनि बच्चा कुपोषित नभएको, गर्भवती महिलाले टीडीखोप लगाएको, गर्भवती हुँदा प्रोटोकल अनुसार ४ पटक गर्भजाँच गराएको, हजार दिने आमाको घरमा करेसाबारी भएको यस्ता सबै कुरालाई हेरेर पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।
२ बर्ष मुनीका बालबालिकालाई उनीहरुको बृद्धि विकासमा सहयोग पुराउनका लागि पोषिलो खानेकुराहरुको आवश्यकता पर्दछ । पोषिलो खाना नपाउँदा अझै पनि नेपालमा धेरै बालबालिकाको मृत्यु कुपोषणवाट हुने गरेको छ । नगरपालिकाले उक्त स्वास्थ्य संस्थालाई कुपोषणको निरन्तर अनुगमन गरी वडा भित्र कुपोषित बालबालिका विहिन बनाउने गरी स्वास्थ्य संस्थालाई पोषणयुक्त स्वास्थ्थ संस्थाको रुपमा घोषणा गरेको हो ।
कार्यक्रममा नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु बं कार्कीले पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा कार्यक्रमको औचित्य र यसको कार्यान्वयनका विषयमा जानकारी गराउनुभयो । बच्चाहरुको मासिक अनुगमन गरी १ हजार दिन भित्रका बच्चाहरुलाई बढि नै पोषिलो खानेकुराहरु खुवाउने कुरामा सवैले ध्यान दिनुपर्ने उहाँको भनाई थियो । गर्भमा रहे देखि बच्चा २ बर्षको नहुँदासम्म उसको बृद्धि विकासमा सवैले ध्यान दिनुपर्ने स्वास्थ्य संयोजक कार्कीले बताउनुभयो ।
उक्त कार्यक्रममा रामेछाप नगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण सुवेदी,नेपाल पत्रकार महासंघ रामेछाप शाखा अध्यक्ष बद्रि नयाँघरे लगायतले जिल्लामै पहिलो पटक साँघुटार स्वास्थ्य चौकी पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा भएकोमा शुभकामना व्यक्त गर्दै यसको कार्यान्वयनका ध्यान दिन आग्रह गरेका थिए । वडा नं ३ का वडाअध्यक्ष भुपालराज श्रेष्ठको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend