logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कसरी मनाउदै छन् नेपाली नारीहरुले तीज


  • जन आकाश
  • बिहिबार, भाद्र २४ २०७८

मोहन कार्की ।
नेपाली नारीहरुको महान् पर्व तीज आज धुमधामसँग मनाइदैछ । बर्षभरीका दुखः पीडालाई भुलेर यस दिनलाई खुशीयालीको र नारी सम्मानको रुपमा मनाउँदै आएका छन् । तीज नेपाली नारीहरुको विशेष पर्व हो । यो पर्वमा अविवाहित नारीहरुले राम्रो वर पाउँ भनेर शिवको आराधाना गरी मनाउँदछन् । भाद्र शुक्ल तृतियामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा महिलाले विधुवा हुनु नपर्ने र सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने महिलाहरुले विधुर हुनु नपर्ने र अटल सौभाग्य प्राप्त गर्ने र सर्वगुण सम्पन्न वर पाउने विश्वास छ ।



विवाहित नारीहरुले आफ्नो श्रीमान, घर परिवारमा राम्रो होस् भन्ने कामनासहित व्रत बसेर शिवको आराधना गरी तीज मनाउने धार्मिक पराम्परा रहेको छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गर्दा श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरित विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यहीँ समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मान्यता रहँदै आएको छ ।

चेलीको महत्वको चाड तीज
यस तीज पर्वमा माइतीपक्षवाट चेलीहरुलाई लिन आउने, निम्ता गर्ने र चेलीहरु माइत आउने प्रचलन रहेको छ । चेलीहरु माइतमा आएपछि माइतीले मिठो चोखो पकाएर खुवाउने चलन छ । बर्षभरीको काम ब्यस्तताले भेट नभएका दाजुभाई, आमा–बुबासँग रमाउन पाउने भएपछि नारीहरु सकेसम्म तीजमा माइत जाने चलन छ ।

माइतमा रहदा माइतीहरुले चेलीलाई तीजमा खुशी बनाउन अफ्नो गच्छे अनुसार राम्रो, मिठो, अनि वरीपरिका छरछिमेकलाई समेत बोलाएर रमाइलो गर्ने चलन रहेको छ ।

यो पर्व नारीहरुको बिशेष भएको हुनाले नारीहरु भेलाभई संयुक्त रुपमा नाचगान गर्दै मनभित्र रहेका द्ुखः पीडाहरुलाई गीतमार्फत अभिव्याक्त गर्ने प्रचलन रहेकोे छ । तर पछिल्लो समय विकास हुँदै गएको तीज बिशेषमा नेपाली कलाकारहरुले तीज अगावै कलाकारहरुले तीज गीत बजारमा ल्याउने गरेका छन् ।

ती कलाकारहरुले गाएका तीज गीतलाई नारीहरु भेला भई नाचगान गर्ने गरेका छन् । नेपाली नारीहरुको हकहितको संक्षणको निम्ति खोलिएका संघ÷संस्था÷ सरकारी संस्था वा अन्य निजी क्षेत्रले पनि तीजलाई महत्वपुर्ण रुपमा लिएको देखिन्छ ।

बिगत दुईबर्ष देखि कोभिडको त्रासको कारण तीज उल्लासमय बन्न सकेको थिएन । यो बर्षको तीज केही मात्रमा खुकुलो भएको देखिन्छ । बिभिन्न कार्यलय, संघ÷संस्थाहरुले तीजको आसपासमा संयुक्त रुपमा कार्यक्रम आयोजना गरेर तीजको महत्वलाई संक्षण गर्दै आएका छन् । नारीहरुको भावनामा उत्साह थपेका छन् ।

कलाकार, पत्रकार, डाक्टर, मजदुर, मालिक, शिक्षक, वकिल, इन्जिनियर सवै नेपाली नारीहरुले तीजलाई मनाउँदै छन् ।

सिन्धुपाल्चोकमा बाढीले पुल बगाउदा नेपाली चेली माइत जान रोकियो
यो बर्षको तीजले धेरै ठाउँमा खुशी उल्लास ल्याएपनि बाढी पैरो र कोभिडका कारण नारीहरु लागि सुखद भएन । सिन्धुपाल्चोकमा आएको बाढीले त्यहाका नारीहरु मेलम्ची खोलाको पुल बगाउँदा त्यहाँका नारीहरु मेलम्ची खोला तरेर माइत जान नसक्ने भएका छन् । त्यही आसपासमा भएका नारीहरुले नदीले घर, खेत बगाउदा तनवमा छन् ।

रामेछापको फर्पुमा गएको पैरोका कारण तीज प्रभावित
रामेछापको गोकुलगंगा गाउँपालिका वडा न. ६ फर्पुको जिरोकिलो भन्ने ठाउँको नजिकै यहि भदौ २२ गते झरेको पैरोको कारण सवारी आवगमन अवरुद्ध भएको छ ।

फर्पु आसपासका क्षेत्रहरुकमा पैरोको जोखिम कायम नै रहेको छ । तीजमा त्यस सडक भएर आवत जावत गर्ने गोकुलगंगा, उमाकुण्ड गाउँपालिका र रामेछाप जिल्लाका दोलखासँग जोडिएका दोलखाका नारीहरुको तीज प्रभावित भएको छ । पहिरो हटाउने काम भइरहेको भएपनि बाटोमाथिवाट पहिरो झरिरहेको हुनाले जोखिम कायमै रहेको त्यस गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खडक बहादुर सुनुवारले बताएका छन् । पहिरो खुलाउने काम भएपनि आगमन सहज नभएका कारण त्यस क्षेत्र आसपासका नारीहरुको तीज प्रभावित भएको हो ।

तीज मनाउन किनमेलमा गएका दिदीबहिनीलाई खोलाले बगायो
दाङका दिदीबहिनी तीजको किनमेल गर्न गएर घर फर्कने क्रममा घोराहीतर्फ जाँदै गरेको प्रदेश ०३–०१–०२४ च ४४४० नम्बरको कारलाई घोराही उपमहानगरपालिका–४ गोग्लीस्थित सिस्नेखोलामा उर्लिरहेको बाढीले बगाउँदा एकै घरका दिदीबहिनीसहित चार जनाको मृत्यु भएका छन् ।

मृत्यु हुनेहरुमा घोराही–१६ सर्राकी ३२ वर्षीया सुशीला श्रेष्ठ, उनकी बहिनी ३० वर्षीया राधिका श्रेष्ठ, घोराही–१३ की ४० वर्षीया रीतामाया पुन र घोराही–१४ की ४२ वर्षीया विमला केसी हुन् । उनीहरु तीज मनाउन नेपालगञ्ज पुगेर तीजको सामान किनमेल गरी फर्केका थिए ।

उनीहरुले सदाको लागि तीज नमाउने गरी बिदा भए कारण गोग्ली खोलाले बगाएको हो । यस्ता दुःखद घटनाहरु पनि तीजका आसपासमा भएका छन् ।

त्यसकारण तीजलाई मनाउँदा आफ्नो पहुँच, क्षमता र सजिलो जसरी हुन्छ त्यसरी नै तीज मनाउनुपर्छ बाढी, पहिरो भइरहेको बेलामा जोखिम मोलेर टाढा–टाढा गई तीज मनाउनु पनि उचित रहेनछ । सजग सचेत र ब्यवहारिक मौलिक संस्कृतिको परिपालना गदै तीज मनाऔं ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend