logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

२०७८ सालको तिहार दोस्रो दिन धुुमाधामसँग मनाइदै


  • जन आकाश
  • बुधबार, कार्तिक १७ २०७८

 



काठमाडौं । २०७८ सालको तिहारको आज दोस्रो दिन कुकुर र काग तिहारलाई एकैदिन मनाइएको छ । बुधबार अर्थात् कात्तिक कृष्ण चतुर्दशीको दिन हिन्दु धर्मावलम्बीहरुले काग तिहार र कुकुर तिहार मनाएका छन् ।

सामान्यतया कात्तिक कृष्ण त्रयोदशीको दिन काग तिहारसँगै यमपञ्चक सुरु हुने र दोस्रो दिन कुकुर तिहार पर्ने गर्छ । काग तिहारकै दिन साँझ यमदीप दान गर्ने गरिन्छ । चतुर्दशीको दिन सूर्योदय पूर्व नरक नुहाउने र सूर्योदयपछि कुकुरको पूजा गर्ने गरिन्छ । तर यो साल मंगलबार यमदीप दान गरियो भने बुधबार काग र कुकुरको पूजा गरिएको छ । बिहीबार बिहान नरक नुहाइने गरी तिथि निर्देश भएको पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

 

यस वर्ष कात्तिक कृष्ण त्रयोदशी तिथिको अधिकांश समय रहेपनि सूर्योदयको समयमा त्रयोदशी तिथि नपरेकोले मंगलबार काग तिहार नमनाइएको समितिका सदस्य सचिव सूर्य ढुंगेल बताउँछन् । बुधबार सूर्योदयको समयमा त्रयोदशी तिथि सकिएको थिएन ।

मंगलबार बिहान ८ बजेर ३ मिनेटमा शुरु भएको त्रयोदशी तिथि बुधबार सूर्योदयपछिसम्म कायम रहेको ढुंगेल बताउँछन् । शास्त्रीय मान्यता अनुसार धार्मिक कृत्यको सूर्योदयको समयमा जुन तिथि पर्छ, दिनभर सोही तिथि मानेर कर्म गर्नुपर्छ । सोही मान्यतालाई आधार मानेर सूर्योदय कालमा त्रयोदशी तिथि शुरु नभएकोले मंगलबार कागपूजा नगरिएको पञ्चांग निर्णायक समितिले जनाएको छ ।

अपमृत्युबाट बच्नको लागि भनेर गरिने यमदीप दान भने सूर्यास्तपछि गरिने भएकोले मंगलबार साँझ नै गरिएको छ ।

चतुर्दशी तिथि टुट्दा बुधबार नै कुकुर तिहार

मंगलबार सूर्योदय कालमा त्रयोदशी तिथि नभएजस्तै यो वर्ष कात्तिक कृष्ण चतुर्दशी तिथिले सूर्योदय भेटेको छैन ।

ज्योतिषीय भाषामा यसलाई तिथि टुटेको भनिन्छ । अर्थात्, कुल ६० घडीको एक तिथि हुनेमा कहिलेकाहीं ५५ घडी हुने र कहिले ६५ घडीसम्म हुने गर्छ । कहिलेकाहीं ५५ घडीको तिथि हुँदा सूर्योदयको समयमा तिथि नपर्न पनि सक्छ । अघिल्लो दिनको सूर्योदयपछि तिथि शुरु हुने र भोलिपल्टको सूर्योदय अघि नै तिथि सकिने अवस्थालाई तिथि टुटेको भनिन्छ । यही समस्या कुकुर तिहार मनाइने कात्तिक कृष्ण चतुर्दशीमा पनि देखिएको हो ।

तिथि टुटेको अवस्थामा कर्म लोप नहुने हुँदा धेरै तिथि जुन दिन पर्छ त्यही दिन सो दिनको कर्म गर्नू भन्ने शास्त्रीय निर्देश रहेकोले बुधबार नै कुकुर तिहार पनि मनाइएको समितिका सदस्य सचिव ढुंगेल बताउँछन् । यद्यपि, नरक नुहाउने दिन भने आज नभएर भोलि सूर्योदय पूर्व गर्नुपर्ने उनी बताउँछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend