logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एमालेको १० औ महाधिवेशनमा क–कसले के के भने


  • जन आकाश
  • शुक्रबार, मंसिर १० २०७८

 



चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक पर्ने बताएका छन् ।

शुक्रबार नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको विधिबाट टुंगो लगाउनुपर्ने पनि बताएका छन् ।

देश र जनतासँग जोडिएका मूल मुद्दामा दलहरुबीच संवाद सहकार्य आवश्यक छ’ उनले भने, ‘हामीबीच रहेका नीतिगत विमतिलाई संविधानले निर्धारण गरेको विधिमार्फत टुंगो लगाउने र त्यसलाई सबैले स्वीकार गर्नुपर्दछ ।’

प्रधानमन्त्री देउवाले मुलुकमा देखिएका सबै समस्याको संवाद, छलफल र संविधानमार्फत समाधान निकाल्ने आफ्नो चाहना भएको पनि बताए ।

सबै दल मिलेर नयाँ संविधान ल्याएको भन्दै प्रधानमन्त्री देउवाले यसलाई बलियो बनाउने जिम्मेवारी पनि सबै राजनीतिक दलको भएको बताएका छन् । संविधान कार्यान्वयन र लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न एमालेले जिम्मेदार भएर भूमिका खेल्नुपर्ने पनि उनले बताए ।

प्रधानमन्त्री देउवाले कानुनी शासन र व्यक्तिगत स्वतन्त्रता सुनिश्चित गर्दै देशलाई समृद्ध बनाउने नै सबै दलको लक्ष्य भएको पनि बताएका थिए ।

 

राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले केपी शर्मा ओलीलाई दृण् अडान र राष्ट्रवादी सोच भएको नेताको रुपमा चित्रण गरेका छन् । एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा आफ्नो पार्टीको तर्फबाट शुभकामना दिने क्रममा अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उनले भने, ‘केपी ओलीजस्तो दृढ अडान र राष्टवादी सोच भएको पार्टीले यो देशलाई संकटबाट मुक्त तुल्याउनको लागि ऐतिहासिक योगदान पुर्याउन सक्छ । तपाईँको पार्टीको लोकप्रिय अध्यक्ष ओलीसँग एउटै सरकारमा मैले पनि काम गर्ने अवसर पाएको थिएँ । जतिबेला उहाँ नेतृत्वको सरकारमा हामी सहभागी भयौं, देशमा त्यतिवेला आन्दोलनको आगो बलिरहेको थियो । भारतीय नाकाबन्दी देशले भोग्नुपरेको थियो ।

यो अवस्थामा मैले यो भन्दा गौरव हुन्छ–कि केपी ओलीको सुझबुझ र मार्गदर्शनमा रहेर हामीले राष्ट्रिय स्वाभिामा पनि एक ईन्चपनि आँच आउन नदिएर भारतीय नाकाबन्दी हटाउन सफल भयौं ।त्यही समयमा छिमेकी चीनसँग व्यापार, पारवाहनको सन्धी गर्यौं । आर्थिक रुपमा नयाँ खाका निर्माण गर्न सक्यौं । अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपालको गरिमा बढेको छ ।’

यद्धपी थापाले केपी ओलीको पछिल्लो सरकारबाट भने आफू त्यति सन्तुष्ट नभएको स्मरण गराए । उनले भने,‘पार्टीभित्रको आन्तरिक कलहले गर्दा होला, सायद जनतालाई दिएको आश्वासनअनुसार नेकपाले काम गर्न सकेन् । धेरै विवाद र असफलताका बावजुद दुई वटा कामको निम्ति केपी ओली र एमालेलाई यो देशले सधैं सम्झिरहनेछ । मधेशमा देखापरेको पृथकतावादी आन्दोलन र विप्लवलाई शान्तिपूर्ण मूलाधारमा ल्याउन महत्वपूर्ण येगदान पुर्याउनुभयो ।

सबैभन्दा महत्वूर्ण कुरा ओलीको नेतृत्वमा लिम्पियाधुरासमेत समेटेर नेपालले आफ्नो सिमाको रक्षाको निम्त प्रतिबद्धता व्यक्त गरेको छ । चुच्चे नक्शा बनाएर संविधानमा संस्थागत गरेर नेपाल र नेपाली जनतालाई अविस्मरणीय गुण लगाउनुभएको छ । यही कारणले गर्दा यो सम्मेलनबाट मैले साहसिक निर्णयको अपेक्षा गरेको छु । देश बचाउनको लागि तपाईँहरुलाई पूर्ण सफलता मिलोस ।’

 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरु आपसमा मिल्न नसक्दा मुलुकमा बाह्य शक्तिले खेलिरहेको बताएका छन् ।

शुक्रबार चितवनमा नेकपा एमालेको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले देशभित्र एकले अर्को दललाई खुइल्याउने काम भएकाले बाह्य शक्तिले खेलिरहेको बताएका हुन् ।

‘बाह्य शक्ति खेल्छ त । हामी लडाइ गर्नुपर्ने एकले अर्कोलाई खुइल्याउनुपर्ने । बाह्य शक्तिले त त्यही खोजरिहेको छ’ उनले भने ।

विश्वमा कम्युनिस्ट आन्दोलन कमजोर भएका बेला नेपालमा पनि कम्युनिस्ट पार्टीमा टुटफुट आएको भन्दै केसीले कम्युनिस्ट पार्टीको अन्तरविरोधमा बाह्य शक्तिले खेल्न खोजेको बताए ।

‘अहिले सबभन्दा बढी तितोपिरो कम्युनिस्ट आन्दोलनमा छ, हाम्रो अन्तरविरोध बाह्य शक्ति, बाम आन्दोलन विरोधी शक्तिलाई सुनाएर औकात देखाउन खोज्छौं, यसरी हुँदैन’ उनले भने ।

‘हामी सबै गणतन्त्र पक्ष धर्म निरपेक्ष पक्ष आउँदा दिनमा पनि मिलेर अगाडि बढ्नुपर्छ । हाम्रा बीचका अन्तरविरोध पनि चलाउँदै जाऔं’ उनले भने ।

मुलुकको अहिलेको अवस्थाका कारण निराशा बढिरहेको पनि केसीले बताए ।

‘अहिले जसरी मुलुक जानुपर्ने हो त्यसरी गएको छैन, कार्यकारीमा राम्रो वातावरण छैन । न्यापालिकामा पनि रामो स्थिति छैन, निराशा छ । हामी एउटाले अर्कोलाई दोष लगाइरहेका छौं’ उनले भने, ‘अहिलेको अराजकता र नैराश्यता पनि हाम्रो कारणले भएको हो, नेपाली जनताका अगाडि इमान्दारिताका साथ स्वीकार्नुपर्छ ।’

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend