logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

स्थानीय तहको निर्वाचनमा सडकबाट स्वतन्त्र उम्मेद्‍वार अभियान


  • जन आकाश
  • शुक्रबार, चैत्र १८ २०७८

 



काठमाडौं । स्थानीय तहमा राजनीतिक दलहरु हुन नहुने भन्दै स्वतन्त्र अभियानले सडकबाट स्वतन्त्र उम्मेद्‍वार घोषणा अभियान सुरु गरेको छ । काठमाडौैंका बानेश्वरको सडकमा कार्यक्रम गर्दै स्वतन्त्र उम्मेद्‍वार अभियान सुरु गरिएको हो ।

अभियानको घोषणा सभामा डा. विरेन्द्र झापालीले सबै पेशाकर्मीदेखि नागरिक समाजसम्म दलको भएकोले अब स्वतन्त्र मान्छे खोजिरहेको बताए । ‘सबै पेशाकर्मी कुनै न कुनै पार्टीमा हुन्छन् तर हामीले स्वतन्त्र उम्मेद्‍वार खोजिरहेका छौं । पार्टीहरु खत्तम भनेर गाली गर्ने होइन अब देशको लागि प्रबुद्ध, बौद्धिक व्यक्तित्वहरु लाग्नुपर्छ,’ उनले भने, ‘हामी कुर्सीको लागि लड्ने होइन देशको विकासको लागि उम्मेद्‍वार घोषणा गरौं ।’

 

उनले देश विकासका लागि देशभक्तहरुको ३ वटा पार्टी पर्याप्त हुने भन्दै १ सय ७७ पार्टी नचाहिने टिप्पणी गरे ।

डा.सुरेन्द्र भण्डारीले स्थानीय तहको चुनावमा राजनीतिक दलको कार्यकर्ता भएर चुनाव लड्दा समाज विभाजन भएको बताए । ‘स्थानीय तहको चुनाव राजनीतिक दलकोतर्फबाट लड्ने दिनसम्म देशको विकास हुँदैन,’ उनले भने, ‘त्यसकारण स्वतन्त्र अभियान आएको हो । यो पनि एउटा क्रान्ति हो । दलको झण्डा होइन, राष्ट्रिय झण्डा बोकेर आउनुपर्छ ।’

 

आफूलाई नागरिक अभियान्ता भन्न रुचाउने अधिवक्ता स्वागत नेपालले युवा नेताहरुलाई गाली गरेका छन् । स्वतन्त्र अभियानको वक्ताको रुपमा रहेका नेपालले भने ‘मुलुक विगारेको कालै दाह्री भएका गगन थापा, योगेश भट्राईहरुले हो । स्थानीय तहको चुनावमा दलहरुलाई पाखा लगाउन, दल विहिन चुनाव बनाउन स्वतन्त्र अभियान सुरु भएको हो ।’

उनले अहिलेको लोकतन्त्रमा मत हाल्नुको खासै अर्थ नभएको टिप्पणी समेत गरे । नेपालले भने ‘राइट टु रिजेक्ट, राइट टु रिकल व्यवस्था नभएसम्म निर्वाचन भनेको आफ्नो पाकेटमार आफैं छान्नपाउने व्यवस्था हो । त्यसकारण मत हाल्नुको खासै अर्थ छैन ।’

मधेसी युवा अभियान्ता गणेशकुमार मण्डलले स्थानीय तहलाई राजनीति मुक्त गर्नुपर्ने बताए । स्थानीय तहमा दलगत चुनाव हुँदा घरदेखि समाजसम्म असर पर्ने उनको तर्क थियो । ‘नेपालका ८७ प्रतिशत मान्छे स्वतन्त्र छन् । १३ प्रतिशत मात्रै राजनीतिक दलका सदस्य छन् । १३ प्रतिशतले ८७ प्रतिशत मान्छेलाई राज गरिरहेको छ । त्यो सिन्डिकेड तोड्न स्वतन्त्र अभियान आवश्यक छ ।’

स्वतन्त्र उम्मेद्‍वार अभियानमा पाका कम्युनिष्ट नेता बद्री खतिवडाले पनि केहि बेर बोले । राष्ट्रियताको विषयमा धेरै समय बोलेका नेता खतिवडाले भने ‘स्यालहरु सिंह बन्न सक्दैनन्, अब स्वतन्त्र युवाहरु सिंह बन्नुपर्छ जसले आफ्नो देशको लागि आँखा जुधाएर कुरा गर्नसक्नुपर्छ ।’

यस्तै तेस्रो लिङगिहरुकोृ अधिकार र न्यायको लागि काम गर्दै आएको ब्लु डाइमण्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङले स्वतन्त्र उम्मेद्‍वारको आवश्यकता आफूहरुले पनि महसुस गरिरहेको बताइन् । उनले जनआन्दोलनको टियर ग्याँसले पोलेको आँखा अहिले नेताहरुको हर्कतले रसाउने गरेको भन्दै भनिन् ‘फेरि चुनाव आएको छ । चुनावमा राजनीतिक दलका नेताहरुले फेरि लुट्ने हुन कि भन्ने डरमा छु ।’

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend