जन आकाश
काठमाडौ । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको आयोजनामा थाङ्का लेखन तालिम आइतबारदेखि सुरु भएको छ । ककनीमा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले एक महिने थाङ्का तालिम यहाँ आयोजना गरिएको समितिका कार्यकारी निर्देशक होम दोङले जानकारी दिए । कार्यकारी निर्देशक दोङले भने‚‘धार्मिक पर्यटनलाई जोड दिनका खातिर ककनीमा यो तालिमको आयोजना गरेको हो ।तालिममा सहभागीले सीप र ज्ञान सिक्न पाउनेछ ।’ उनले यो अवसरलाई सही सदुपयोग गर्न अनुरोधसमेत गरेका छन ।
सीप ज्ञान अमूल्य हुन्छ । आजको युगमा बौद्ध दर्शनसँग जोडिएको थाङ्काले व्यावसायिक रूपमा अघि बढ्न सहज हुने कार्यकारी निर्देशक दोङले बताए ।
यसै गरी तालिमका प्रशिक्षक मोहन दोङले हामी तालिम अवधिभर थाङ्काको उत्पत्ति, लेखन विधि, शैली र मानव सभ्यताको बिकासक्रमसँग जोडिएको विषयवस्तुसँग केन्द्रित रहने बताए । ‘थाङ्कमा बौद्ध दर्शनसँग जोडिएको इतिहास बोकेको हुन्छ ।
यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन सके यसले आर्थिक उपार्जन गर्न सकिन्छ । यसबाट आम्दानीको राम्रो स्रोत बनाउन सकिन्छ ।’ उनले भने‚ ‘यो एक महिना तालिम उपलब्धिमूलक हुनेछ ।’उनले थाङ्क लेखनबाट आर्जित आर्थिकले शिक्षामा लगानी गर्दा छोराछोरीको भविष्य उज्यालो बनाउन सहज भएको उदाहरण दिँदै यो सीपले जीविकोपार्जनमा सजिलो बनाउने बताए ।
तालिम अवधिभर प्रशिक्षणमा मोहन दोङ, भुवनदास तामाङ, निपुण तामाङ रहनेछ । तालिममा ताप्लेजुङ, सोलुखुम्बु, धादिङ‚ नुवाकोट‚ रामेछाप लगायतका करिब डेढ दर्जनभन्दा बढीको सहभागिता रहेका छन । कार्यक्रममा तालिमका संयोजक सन्जु योङ्गया र सहसंयोजक लक्ष्मी रुम्बा लगायत रहेका थिय ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend