logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल टेलिकमले १९ औ बार्षिकोत्सव सम्पन्न गरयो


  • जन आकाश
  • मंगलबार, माघ २४ २०७९

 



काठमाडौ । नेपाल टेलिकमले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सव कार्यक्रम आज (२०७९ माघ २२ गते) सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालको अध्यक्षता सम्पन्न गरेको हो ।

समारोहमा कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री रृेखा शर्मा रहकी थिइन । मन्त्री शर्माले दूरसञ्चार सेवा कुनै सेवा प्रदायकको आफ्नो व्यवसाय मात्र नभएर सार्वजनिक सेवा प्रवाहको आधारभूत माध्यम भएको सम्बोधन गर्ने क्रममा बताएकी थिइन । उनले नेपाल सरकारले सूचना प्रविधिको प्रयोगमार्फत नागरिकलाई प्रदान गर्ने नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, भूमी अभिलेख व्यवस्थापन, स्थानीय पञ्जिका धिकारी सम्बन्धी सेवाहरु, करसँग सम्बन्धित कार्यहरु लगायत सेवाहरु उपलब्ध गराइरहेको छ । यी सेवाहरु निरन्तर सुलभ रुपमा नागरिकलाई उपलब्ध गराउन दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको भन्दै टेलिकमको प्रशंसा गरेकी थिइन । सो अवसरमा उहाँले अधिकतम सरकारी स्वामित्व रहेको संस्था भएकाले सरकारको सोंच र लक्ष्यलाई समेट्दै मुलुकका सुगमदेखि अति विकट स्थानहरुमा नाफारहीत रुपमा भएपनि दूरसञ्चार र सूचना प्रविधिका सेवाहरु उपलब्ध गराउने जिम्मेवारी नेपाल टेलिकमको रहेको उल्लेख गर्दै विकट स्थानका जनताले तिरेको मूल्यबाट यस संस्थाको, कर्मचारीको र राज्यको आर्थिक आधार खडा भएकाले जनताले तिरेको मूल्यको सही सदुपयोग हुनेगरी सुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउने दायित्व पूरा गर्न सचेत भएर लाग्न दिइकी थिइन ।

मन्त्री शर्माले न्यूनतम सञ्चालन खर्चमा अधिकतम उत्पादनशीलता हासिल गरी ग्राहकलाई गुणस्तरीय, सस्तो र सुलभ सेवा उपलब्ध गराई कर्मचारीका सेवासुविधाहरुलाई वृद्धि गर्दै लैजाने तथा राज्य र लगानीकर्ता शेयरधनीहरुलाई अधिकतम प्रतिफल दिनु कम्पनीको दायित्व रहेको पनि सो कार्यक्रममा बताइन ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले सेवा बिक्री गर्ने संस्थाको लागि ग्राहक सन्तुष्टी सर्वोपरी हुनुपर्ने बताउन भनाई राखेका थिए । ‘कम्पनीले सेवाहरु देशभर विस्तार गरेर मात्र पुग्दैन, वितरित सेवाहरु गुणस्तरीय, भरपर्दो र निरन्तर उपलब्ध गराउनु पर्छ’ उहाँले सो अवसरमा उल्लेख गरेका थिए । सेवाहरु निरन्तर उपलब्ध गराउन सकिएमा कम्पनीको राजश्वमा थप बढोत्तरी हुने अर्यालले बताए । ग्राहकका गुनासा तत्काल सम्बोधन हुनुपर्ने र यसको लागि संयन्त्र नै तयार गरी कम्पनी लाग्नुपर्ने पनि उल्लेख गरेका छन् ।

सो कार्यक्रमका विशेष अतिथि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शुभकामना मन्तव्यकै क्रममा डिजिटल नेपाल निर्माणको आवधारणा कार्यान्वयनको लागि सूचना महामार्ग निर्माण गर्ने जिम्मेवारी समेत बोकेको नेपाल टेलिकमले यसतर्फ अझ गम्भीरतापूर्वक लाग्नुपर्ने बताउनु बताएका थिए ।उनले नेपाल टेलिकम पूर्वाधारमा अत्यन्त धनी भएको उल्लेख गर्दै राजश्व बढाउनका लागि यसको सदुपयोग हुनुपर्ने सुझाव पनि राखे ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै कम्पनीले नयाँ प्रविधिका रुपमा e–SIM को देशव्यापी वितरण गरिरहेको तथा VoWIFI सेवा व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीस्वरुप परीक्षण कार्य अन्तिम चरणमा रहेको बताएका थिए । उनले प्राविधिक र भौगोलिक कारणले सेवाको पहुँचमा आउन नसेकेका देशका कतिपय भूभागमा सेवाको पहुँच पु¥याउन, भ्यालु एडेड सेवाहरुको विस्तार र नयाँ भ्यालु एडेड सेवाहरुको शुरुवात पनि कम्पनीको प्राथमिकतामा रहेको उल्लेख गरेका थिए । नयाँ सेवाका रुपमा फाइभजीको परीक्षण जारी रहेको जानकारी पनि उक्त अवसरमा दिन भ्याएका थिए ।

कम्पनीको १९ औं वार्षिकोत्सवको अवसरमा NT Anniversary Offer उपलब्ध गराइएको छ । यस अन्तर्गत रु. २९४ मा १० दिनका लागि २० जीबी डाटा, रु.९८ मा ३ दिनका लागि ६ जीबी डाटा र रु.४९ मा १ दिनका लागि १ एमबिपिएस अनलिमिटेड डाटा र अन नेट १०० मिनेट कल सुविधा उपलब्ध गराइएको छ । यसैगरी रु. २०० देखि रु. ४९९ को रिचार्ज गर्दा २ जिबी बोनस डाटा, दैनिक १ जिबी प्रयोग गर्न सकिने तथा रु ५०० वा सो भन्दा माथिको रिचार्जमा दैनिक २ जिबीका दरले ४ दिनसम्म प्रयोग गर्न सकिने अफर उपलब्ध गराइएको छ । यी अफरहरु आगामी माघ २९ गतेसम्म उपलब्ध हुनेछ । नयाँ एफटीटीएच जडान गर्ने ग्राहकका लागि रु. १२ हजारमा २० एमबीपीएस डाटा, १ लाइन टेलिफोन र १ वटा एनटीटीभी सहितको प्याकेज उपलब्ध गराइनेछ । यो सेवा फाल्गुन २९ गते सम्मका लागि उपलब्ध गराइएको छ ।

वार्षिकोत्सवकै अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व -CSR_ अन्तर्गत सरकारी र सामुदायिक विद्यालय, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थल, वसपार्क, एयरपोर्ट, अस्पताल लगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरु, वृद्धाश्रम र बाल आश्रमहरु, आमा समूहहरु, दैवी प्रकोपबाट प्रभावित सर्वसाधारणहरुलाई कम्पनीका तर्फबाट सहयोग गर्ने कार्यक्रमहरु रहेका पनि उहाँले बताउनु भयो ।

यसैगरी कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजश्व बुझाउने सेवाग्राहीहरुलाई सम्मान र पदक, वरिष्ठ मूर्तिकार श्री ठाकुरप्रसाद मैनालीज्यूलाई सम्मान–पत्र र कम्पनीका विभिन्न सेवाहरु निशुल्क उपलब्ध गराउनुका साथै कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

साथै, आज कम्पनीको १९ औं वार्षिकोत्सवको अवसर पारेर कम्पनीद्वारा फाइभजीको परीक्षण Testing को शुरुवात समेत गरिएको छ । विभिन्न मोबाइल सेट निर्माता कम्पनीहरुसँग उक्त कम्पनीहरुको सेटमा फाइभजी परीक्षण गर्नको लागि समन्वय भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend