logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

प्रधानमन्त्री प्रचण्ड आज बझाङ जाँदै


  • जन आकाश
  • शुक्रबार, असोज १९ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित बझाङ जिल्ला जाँदैछन् । उनी बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरबाट बझाङ प्रस्थान गर्ने कार्यक्रम छ ।



उनले भूकम्पले बढी क्षति पुर्याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरु देखाउने तयारी गरिएको जानकारी दिए । बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति पुर्याएको छ ।

भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । घाइतेहरुमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला अस्पतालमा २ जना उपचाररत छन् । जिल्लामै उपचाररत घाइतेको अवस्था सामान्य छ । भूकम्पले घरलगायतका भौतिक संरचनामा क्षति पुगेको छ । घर पूरै भत्किएकाहरु अहिले पनि सार्वजनिक स्थान र सामुदायिक घरहरुमा बसिरहेका छन् । घर बाँकी भएकाहरु भने विस्तारै घरमा फर्किएर दैनिक कामकाजमा संलग्न हुन थालेका छन् ।

भूकम्प प्रभावितहरुका लागि राहत संकलन जारी छ । प्रदेश सरकार र विभिन्न संघसंस्थाले राहत उपलब्ध गराइसकेका छन् भने केन्द्र सरकारको राहत आज सडकमार्ग हुँदै जिल्ला आइपुग्न लागेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए । संकलित राहतलाई एकद्वार प्रणालीबाट वितरण गर्ने निर्णय जिल्ला विपद व्यवस्थापन समितिको बैठकले गरेको छ ।

बिहीबार बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदको बैठकमा प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित नागरिकलाई राहत र पुनर्स्थापनाका साथै क्षति भएका संरचनाको पुनर्निर्माणको प्रक्रिया छिट्टै कार्यान्वयन गर्ने बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend