logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

तिहारको ४ दिनमा एक अर्ब ३२ करोडको सुन बिक्री


  • जन आकाश
  • आइतबार, मंसिर ३ २०८०

काठमाडौं । तिहारको ४ दिनमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको सुनको कारोबार भएको व्यवसायीहरुले बताएका छन् ।



मंसिरको बिहेको लगन तथा धनतेरस पर्वमा सुनको कारोबारमा उल्लेख्य सुधार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष मणिकरत्न शाक्यले तिहारको ४ दिनमा १३५ किलो सुन बिक्री भएको बताए । जसको बजार मूल्य एक अर्ब ३२ करोड ७९ लाख ९५ हजार रुपैयाँ बराबर हुन्छ ।

अध्यक्ष शाक्यकाअनुसार तिहारको ४ दिन औषत ३५ किलोका दरले छापावल सुनको बिक्री भएको थियो । यस्तै धन्तेरसको दिन भने एकै दिन ५० किलो सुन बिक्री भएको अध्यक्ष शाक्यले बताए । ‘हामीले देशभरको तथ्याङ्क लिएका छौं, तिहारभरको ४ दिनमा कुल १३५ किलो सुन बिक्रि भएको भन्ने छ,’ अध्यक्ष शाक्यले भने, ‘जसको मूल्य एक अर्ब ३२ करोड ७९ लाख रुपैयाँ बराबर पर्छ ।’

धनतेरसका दिन सुन बिक्री मूल्य एक लाख १४ हजार ७ सय रुपैयाँ थियो । बजारमा यस अघि बिक्री नभएर बैंकहरुमा रहेको सुन तिहारमा खपत भएको महासंघले जनाएको छ । सरकारले अहिले दैनिक २० किलो सुन आयात गर्न अनुमति दिएको छ ।

मंसिरमा के हुन्छ मूल्य रु बिबाहको लगनको महिना मंसिर सुरु भएसंगै बजारमा सुन चाँदीको कारोबारबारे उपभोक्ताको चासो बढेको छ । तिहार र कात्तिक महिना सकिए लगत्तै सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढेको छ । जसका कारण मंसिरमा सुनको मूल्यलाई लिएर उपभोक्ताहरुमा चिन्ता बढेको छ । यता सुन चाँदी व्यवसायी महासंघले पनि सुनको मूल्य श्रृंखला हेर्दा मंसिरमा सुन थप महँगो हुन सक्ने आंकलन गरेको छ ।

रुस–युक्रेन र इजरायल–प्यालेस्टाईन युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएको र त्यसको असर सुनको बजारमा पर्ने देखिएको महासंघका अध्यक्ष शाक्य बताउँछन् । अर्कोतर्फ चीन–अमेरिका व्यापारीक टसल र ब्रिक्स राष्ट्रहरुको नयाँ मुद्रा प्रचलनमा ल्याउने बहशले अहिले विश्व अर्थतन्त्र पर्ख र हेरको अवस्थामा रहेको उनी बताउँछन् ।

‘डलरको बिरुद्धमा ब्रिक्सले नयाँ मुद्रा प्रचलनमा ल्यायो भने सुनको मूल्यले थप उचाई लिने देखिन्छ,’ अध्यक्ष शाक्यले भने,‘यो समय दक्षिण एशियामा सुनको धेरै खपत पनि हुने भएकाले मूल्य बढ्ने नै देखिन्छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend