जन आकाश
बिनोद कार्की ।
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा पर्ने जटापोखरी र पाँचपोखरी क्षेत्र प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । पर्यटकीय सम्भाव्यता भएर पनि यो क्षेत्रलाई प्रबर्द्धन गर्ने ठोस प्रयास भएको छैन ।
तामाकोसी नदीको प्रमुख सहायक नदीको रुपमा रहेको खिम्ति खोलाको सिरमा रहेको पाँच पोखरी र जटापोखरी धार्मिक हिसावले प्रख्यात मानिन्छन् । गोकुलगंगा गाउँपालिकाको वडानम्बर १ चुचुरेमा पर्ने जटापोखरी जानको लागि चुचुरेको खहरेबाट पैदल हिँड्नु पर्छ । चुचुरेको खहरेसम्म भने हिउँद र पानी नपरेको बेलामा यातायात चल्छन् । चुचुरेको शिवालयसम्म सदरमुकाम मन्थलीबाट बस सेवा नै सञ्चालनमा छ ।
रस्नालुबाट नै सुरु हुने उच्च पहाडी क्षेत्रको हावापानी, वनस्पती, जडीबुटी र छाँगा छहराहरुले यात्रीहरुको मन आनन्दित बनाउँछ । राणाकालमा नै सञ्चालनमा आएर बन्द भएको नेपालकै दोस्रो ठूलो फलाम खानी पनि यही बाटोमा पर्दछ । लेकको चिसो मौसम र मनोरम दृश्यले त्यो मानिडाडाँको उकालोमा समेत यात्रीहरुलाई थकाइको महसुस हुननदिने यात्रुहरु बताउछन् ।
करिव ६ घण्टाको ठाडो उकालो पैदल यात्रापछि मानेडाँडा पुगिन्छ । डाँडामा बनाइएका माने, खुल्ला चौर, अनि कुहिरोभित्र लुकामारी गर्दै चरिरहेका चौरी खरहेरमा भेटिन्छन् । मानेडाँडाबाट दुई घण्टाको दुम्स्याइलो बाटो पार गरेपछि जटापोखरी पुगिन्छ । दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोला पार गरेपछि जटापोखरी पुगिन्छ । ४ हजार २ सय ५० मिटरको उचाईमा रहेको जटापोखरी एउटा हिमताल नै हो । जहाँ वर्षमा ६ महिनाभन्दा बढी पानी जम्छ । चैतदेखि भदौसम्म मात्र हिउँ पग्लन्छ । नरिवलको जटाको आकारको भएकोले यो पोखरीलाई जटापोखरी भनिएको स्थानीय बताउँछन् ।
पाँचपोखरी भने जटापोखरीभन्दा पनि माथि छ । जटापोखरीको ठ्याक्कै माथि रहेको पाँचपोखरी ४ हजार ६ सय ५ मिटरको उचाईमा छ । एउटै पोखरीमा बीचबीचमा प्राकृतिक रुपमा उठेका बाँधहरुले पोखरीलाई पाँचवटा कुण्डमा विभाजन गरेको छ । यो पोखरीबाट निस्किएको पानी जटापोखरीमा झर्छ । जटापाखरीबाट खिम्ति खोलामा दुवै पाखरीबाट अनवरत रुपमा पानी निस्कन्छन् ।
यो क्षेत्रको यात्रा चैतदेखि भदौ महिनासम्म गर्न सकिन्छ । जनै पूणिर्माको दिन भने जटापोखरीमा ठूलो मेला लाग्छ । यो स्थानलाई हिन्दु र वौद्धधर्मालम्बिहरुको संगमस्थल पनि मानिन्छ । जनैपूर्णिमाको दिन मेला भर्न रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, ओखलढुंगा, सोलु, भक्तपुर, सर्लाही मात्र हैन भारतको सिक्किमसम्मका हिन्दु र वौद्धधर्मालम्बिहरु पुजा गर्न पुग्छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend