logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आज हरिबोधनी एकादशी, विष्णु मन्दिरहरुमा घुइँचो


  • जन आकाश
  • बिहिबार, मंसिर ७ २०८०

काठमाडौं । आज हरिबोधनी एकादशी पर्व मनाइँदै छ । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ ।



चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ । आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल प्रसादको रुपमा खाने गरिन्छ ।

हरिबोधनी एकादशीको दिन काठमाडौं उपत्यकाका चार नारायण -चाँगुनारायण, इचंगु नारायण, विशंखुनारायण र शेषनारायण लगायत देशभरका विष्णु मन्दिरहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । काठमाडौंका पशुपतिनाथ र बुढानीलकण्ठ मन्दिरमा पनि आज भक्तजनको घुइँचो छ ।

उपत्यका बाहिर देवघाट, रिडी लगायतका क्षेत्रमा पनि एकादशीको मेला लागेको छ । हरिबोधनी एकादशीको अवसरमा गुल्मीका रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend