जन आकाश
दोधारा चाँदनी । कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ ।
सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था छ । तर कञ्चनपुरका उखु किसानले भने गत वर्षको अनुदान पाउन सकेनन् । उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले कञ्चनपुरका उखु किसानले रु ३२ करोड अनुदान रकम पाउन बाँकी रहेको बताए ।
सरकारले २०७५ सालमा कार्यविधि नै बनाएर उखु उत्पादक किसानलाई अनुदानको व्यवस्था गरेको थियो । सुरुमा प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान दिने गरेकामा गत आर्थिक वर्षमा बढाएर प्रतिक्विन्टल रु ७० पुर्याइएको थियो । कञ्चनपुरको पुनर्वासस्थित भागेश्वर सुगर मिल र बेलौरीस्थित महाकाली सुगर मिल अहिले सञ्चालनमा छन । गत आवमा उक्त दुई उद्योगले नेपाली किसानको २६ लाख ६६ हजार ४८ क्विन्टल उखु क्रसिङ गरेका थिए । त्यसको अनुदानबापत उनीहरूलाई रु ३२ करोड भुक्तानी गरिसक्नुपर्नेमा सरकारले भने बजेट अभावको कारण देखाउँदै आइरहेको गुनासो उखु उत्पादक किसानको छ ।
उखु उत्पादक किसान हकहित संरक्षण समितिका अध्यक्ष हरिचन्द ठकुरीले सरकारले गत आव उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु छ सय १० निर्धारण गरेको बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend