जन आकाश
काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोती गाँउमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
मंगलबार जिल्ला अदालतका न्यायाधीश खडकबहादुर केसीको इजलासले उक्त घटनामा क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो । जन्मकैदको सजाय तोकिएकाहरु २५ वर्ष कैद बस्नु पर्छ ।
ज्यान मुद्दाको सजाय पाउनेमा जन्मकैदको मुद्दामा सजाय पाउने अन्यमा नवराजकी प्रेमिकाका बाबु (नाम गोप्य), प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुन, एक नाबालक, डिल्लीमल्ल ठकुरी, तिलक चन्द, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ललाई जन्मकैदको सजाय सुनाइएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।
त्यस्तै विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नविन घर्ती, भीम पुन, विराज पुन, बिष्णु मल्ल र रमित मगरलाई पनि जन्मकैदको सजाय सुनाइएको छ । उनीहरु हाल पुर्पक्षका लागि थुनामा नै छन् । नवराज विककी प्रेमिका, उनकी आमा र भाइले ज्यान मारेको आरोपबाट सफाइ पाएका छन्, तर जातीय छुवाछुतको आरोपमा दोषी ठहर भएका छन् ।
उनीहरुलाई जनही २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । सूचना अधिकारी कोइरालाले भने, ‘यसअघि धरौटीमा छुटेकाहरुले ज्यान मारेको आरोपबाट सफाइ पाए । किशोरी, उनकी आमा र नाबालक भाइ भने जातीय छुवाछुतको आरोपमा मात्रै दोषी ठहर भएका छन् ।’ हरेक पिडितका परिवारलाई ४० हजार रुपैंयाका दरले क्षतिपूर्ति भराउने आदेश भएको सूचना अधिकारी कोइरालाले बताए ।
घटनामा संलग्नको आरोप लागेका दीपेन्द्र चन्द, तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल, भीमबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र सौरभ पुन गरी ८ जनाले सबै मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले फैसलावारे जानकारी दिँदै हाल पुर्पक्ष थुनामा रहेका २३ जनालाई जन्मकैद भएको बताए ।
अनि संरक्षकको जिम्ममा रहेका एक नाबालकलाई समेत जन्मकैद भएको समेत बताए । ८ बालबालिकासम्बन्धी ऐन अनुसार, बालबालिकालाई नियमित सजायको बढीमा ७५ प्रतिशत मात्रै सजाय तोकिन्छ । ती नाबालकलाई जन्मकैद भनेपनि पुरै २५ वर्ष कैद बस्नु पर्दैन ।
उनलाई बालबालिका सम्बन्धी ऐन अनुसार उनको सजाय कति छुट भएको भन्नेवारे सूचना अधिकारी कोइरालाले केही खुलाएन् । ८ १० जेठ २०७७ मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरुसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका थिए । त्यस क्रममा किशोरीका आफन्त र गाउँलेले लखेटीलखेटी नवराज विकसहित ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend