जन आकाश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजदेखि १० बजे नै कार्यालय पुग्ने र नियमित काममा खटिने उनको सचिवालयले जनाएको छ । सोही अनुसार प्रधानमन्त्री प्रचण्ड आज १० बजे नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पुगेका छन् ।
राजधानी बाहिर जानुपरेको अवस्थामा वा अत्यन्त जरुरी अन्य कुनै काम परेकोबाहेक अबदेखि हरेक दिन १० बजे नै कार्यालय पुगेर काम गर्ने योजना रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । ‘त्यो योजना अनुसार आज बिहान १० बजे नै उहाँ कार्यालयमा आइसक्नु भएको छ,’ शर्माले भने ।
सरकारका काम जनताको अपेक्षा अनुसार हुन नसकेको भनेर आत्मसमीक्षा गरेका प्रधानमन्त्री प्रचण्डले अबदेखि नयाँ ढंगले काम गर्ने घोषणा गरेका थिए । ललितपुर महानगरपालिकाको १०५ औं वार्षिक उत्सव समारोहलाई सोमबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले अब नयाँ ढंगले अघि बढ्ने बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार प्रधानमन्त्रीले सोमबार मुख्य सचिव र सचिवहरुलाई आफू मंगलबारदेखि १० बजे नै कार्यालय आउने जानकारी गराउँदै अन्य कर्मचारीहरुलाई पनि समयमै कार्यालयमा उपस्थित भएर कामकाज गराउन भनेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend