logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आज कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै


  • जन आकाश
  • बिहिबार, पुष १२ २०८०

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । राष्ट्रियसभा चुनावबारे छलफल गर्न पार्टी कार्यालय सानेपामा बैठक बोलाएको हो ।



बैठकमा राष्ट्रियसभा निर्वाचनसँगै पार्टीका आन्तरिक विषय, मन्त्रीहरूका कामको समीक्षा पनि हुने बताइएको छ । बैठकमा मुख्य रूपमा राष्ट्रिय सभामा उम्मेदवारको विषय एजेन्डाका रूपमा छ । २९ मंसिरमा बसेको कार्यसम्पादन समिति बैठकले १० पुसभित्र प्रदेशलाई नाम पठाउन निर्देशन दिएको थियो । तर, धेरै आकांक्षी र विवादको सम्भावनाका कारण प्रदेशले सबै आकांक्षीको सूची केन्द्रमा पठाएका छन् ।

कांग्रेस विधानको धारा ३२ को उपधारा ९ मा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने क्षेत्रका एक सिटका प्रदेशले सहमति या बहुमतबाट तीनजनाको नाम निर्णय गरी केन्द्रमा पठाउनुपर्ने व्यवस्था छ । यसरी आएका नामबाट केन्द्रीय संसदीय समितिले टुंगो लगाउनुपर्ने र केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्नुपर्ने व्यवस्था छ । तर, कांग्रेसले हालसम्म संसदीय समिति गठन गरेको छैन ।

यसअघिका तीनै तहको निर्वाचनमा पनि सभापति देउवाले संसदीय बोर्ड गठनमा कुनै चासो दिएका थिएनन् । कांग्रेसको शेखर–गगन समूहले भने नयाँलाई अवसर दिनुपर्ने, उम्मेदवार छनोटमा मापदण्ड बनाउन र बोर्ड गठनका लागि दबाब दिने तयारी गरेको छ । उम्मेदवारको टुंगो भने केन्द्रीय समिति बैठक सकिएसँगै लगाउने तयारी छ ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्मा बैठकले मापदण्ड बनाउने र उम्मेदवारको टुंगो नेतृत्वले टुंग्याउने गरी जिम्मेवारी दिने तयारीमा रहेको बताउँछन् । बैठकमा संस्थापन पक्षकै नेताहरूले सिफारिसमा अधिकांश अवसर पाएकाको नाम समेटिएको भन्दै ‘नयाँलाई अवसर’का लागि दबाब दिने तयारी गरेका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend