logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

यातायात मन्त्री प्रकाश ज्वालाको गाडी बालकुमारीमा आगजनी


  • जन आकाश
  • शुक्रबार, पुष १३ २०८०

काठमाडौं । ललितपुरको बालकुमारीमा आगजनी भएको सरकारी गाडी भौतिक,पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको भएको खुलेको छ । ललितपुर प्रहरीका अनुसार मन्त्री ज्वाला सवार गाडीमा आगजनी भएको हो।



कोरियन भाषा परीक्षाको विषयलाई लिएर विरोध प्रदर्शमा उत्रिएका युवाहरूले शुक्रबार मध्यान्नतिर गाडीमा आगजनी गरेका थिए । प्रदर्शनकारीहरूले मन्त्री ज्वाला चढेको गाडी रोकेर सुरुमा हावा फुस्काइ दिएका थिए । त्यसपछि आगो लगाएका थिए । आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी ध्वस्त भएको छ ।

आगजनीका कारण कोटेश्वर-कलंकी सडकको यातायात प्रभावित भएको छ भने बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । सो क्षेत्रमा सवारी साधानको लामो जाम भएको छ । इपीएस कार्यालयले इपीएस कोरिया भाषा परीक्षको सिप बिल्डिङ (पानी जहाज निर्माण) मा अनुत्तीर्ण भएकामध्ये १८ जना परीक्षार्थीले मात्र उत्पादनमूलक क्षेत्रमा आवेदन दिने निर्णय गरेको थियो ।

सो निर्णयविरुद्ध केही परीक्षार्थीहरूले अदालतमा रिट दिएका थिए । सो रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले आवेदन दिन पाउनेगरी अन्तरिम आदेश दिएको थियो । आदेशमा रिट दायर गरेका १८ जनाको पक्षमा मात्रै आवेदन दिन पाउने आदेश आएपछि सोहीअनुसार इपीएस कार्यालयले आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।

इपीएस कार्यालयको सो निर्णयविरुद्ध परीक्षार्थीहरु आन्दोलित बनेका हुन् । सीप बिल्डिङमा २५ हजार बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन्। भविष्यमाथि खेलवाड भएको भन्दै इपीएस सीप बिल्डिङ पीडितहरू आन्दोलित भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend