logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित


  • जन आकाश
  • मंगलबार, फाल्गुन २९ २०८०

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएका छन् । मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या राष्ट्रियसभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन् ।



दाहालका प्रतिस्पर्धी विपक्षी दलका उम्मेदवार नेपाली कांग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत परेको थियो । दाहालको पक्षमा ३९ मत परेको थियो । दुवै प्रस्तावको मतदानमा ५६ सांसद सहभागी भए भने एक सांसद तटस्थ बसेका थिए । कुल ५९ सदस्यीय हुने सो सभामा हाल ५८ सदस्य कायम छन् ।

दाहाललाई अध्यक्ष पदको उम्मेदवारका लागि माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए ।

सभाका नवनिर्वाचित अध्यक्ष दाहाललाई बधाई दिँदै उपाध्यक्ष अर्यालले कार्यकालको सफलताको कामना गरिन् । नेपाली कांग्रेसका उम्मेदवार शर्मालाई अध्यक्ष पदमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले प्रस्ताव गरेका थिए भने कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंहले समर्थन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend