logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ग्रिन हाइड्रोजनवाट नेपालमै कार सरर


  • जन आकाश
  • आइतबार, चैत्र १८ २०८०



काठमाडौं विश्वविद्याल (केयू) मा आइतबार हाइड्रोजन रिफिलिङ स्टेसनको सफल परीक्षण गरिएको नेपाल हाइड्रोजन इनिसिएटिभ्स परियोजना प्रमुख प्रा.डा. विराजसिंह थापाले जानकारी दिए ।

‘दुई वर्षको निरन्तर अनुसन्धानपछि आज बिहानैबाट हामी हाइड्रोजन इन्धनलाई कारमा राख्ने कामको परीक्षण गरिरहेका छौं,’ थापाले  भने, ‘यो दिन नेपालका लागि निकै महत्वपूर्ण हुनेछ ।’

विश्वविद्यालयमा स्थापना गरिएको हाइड्रोजन रिफिलिङ स्टेसनबाट उत्पादन भएको हाइड्रोजन आज कारमा राखिएको हो । कार सरर गुडेको छ।

स्टेसनको सफल परीक्षण भएसँगै नेपालमै उत्पादित ग्रिन हाइड्रोजनबाट पहिलो पटक कार गुड्न सफल भएको हो । थापाका अनुसार ग्रिन हाइड्रोजनबाट चल्ने कार अन्य कारभन्दा छुट्टै हुन्छ ।

विदेशबाट ल्याइएको यस्तो कारमा नेपालमै उत्पादित हाइड्रोजनले कार गुड्न सफल भएसँगै अब यसलाई व्यावसायिक उत्पादनमा समेत लैजान सकिने सम्भावना पुष्टि भएको उनले जानकारी दिए । ‘जसरी ईभी उत्पादन हुन्छ, हाइड्रोजन गाडीसमेत छुट्टै उत्पादन हुन्छ,’ उनले भने ।

प्रा.डा. थापाका अनुसार ग्रिन हाइड्रोजन डिजेलको विकल्पका रूपमा संसारभरि अगाडि बढेको हो । जसले बस, ट्रकजस्ता ‘हेभी उपकरण’ सञ्चालन गर्ने छ ।

‘बिजुलीबाट गुड्ने सवारीसाधन हलुकामात्र हुनेछन्, किनकि यस्तो इन्धनले हेभी सवारीसाधन चलाउन सम्भव छैन,’ उनले भने, ‘ग्रिन हाइड्रोजन डिजेलको विकल्प हो ।’

अध्ययन अनुसार ७ किलो ग्रिन हाइड्रोजनले १५/२० टन भार बोकेका ठूला सवारीसाधनले १ हजार २ सय किलोमिटरसम्म दुरी पार गरेको देखिएको छ ।

यसले नेपालजस्तो भूगोलमा समेत हाइड्रोजनको व्यावसायिक सम्भावना अधिक देखिएको उनले बताए । ईभीले पेट्रोलबाट चल्ने गाडी विस्थापित गर्ने र ग्रिन हाइड्रोजनले डिजेल विस्थापित गर्न सक्ने उनको भनाइ छ । यसले पर्यावरण संरक्षणसँगै नेपालजस्ता मुलुकले स्वदेशी उत्पादनबाट सवारीसाधन चलाउन सक्ने उनको भनाइ छ ।

विश्वविद्यालयको काम अध्ययन र परीक्षण गर्ने भएको भन्दै उनले अब यसलाई व्यावसायिक सञ्चालनमा लैजाने वा नलैजाने भन्ने विषय सरकार र लगानीकर्ताको इच्छाशक्तिमा भर पर्ने बताए ।

‘हामीले सम्भावना पुष्टि गरेर देखाएका छौं,’ उनले भने, ‘अब यसलाई नेपालका हकमा व्यावसायिक प्रयोगमा ल्याउने काम सरकार र लगानीकर्ताको हो ।’

यस परीक्षणमा प्रा.डा. थापासँगै आधा दर्जन अनुसन्धानकर्ता निरन्तर खटिएका थिए । उक्त क्रममा कोरियामा एक महिना बसेर अध्ययन गरिएको उनले जानकारी दिए ।

यसअघि केयूस्थित ल्याबमा खाना पकाउने ग्यासका रूपमा हाइड्रोजनको सफल परीक्षण भइसकेको छ । गत भदौमा सफल परीक्षण भएको ग्यासबाट ७ मिनेटमा चाउचाउ (खाजा) पकाइएको थियो ।

नेपाल इनर्जी फाउन्डेसनको नेतृत्वमा केयू, बेलायतको इनर्जी क्याटलिस्ट कार्यक्रम र लुसर्न स्कुल अफ इन्जिनियरिङको सहयोगमा उक्त परीक्षण गरिएको थियो ।

परीक्षणको उद्देश्य कोइला र डिजेल विस्थापन गरी उद्योगहरूमा ग्रिन हाइड्रोजन प्रयोग गर्न सकिन्छ भन्ने तथ्य पुष्टि गर्नु रहेको उनको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend