logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

“नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरु एकै पोशाकमा केन्द्रीय समिति बैठकमा सहभागी”


  • जन आकाश
  • मंगलबार, पुष २ २०८१

काठमाडौं । कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालय अगाडि नेकपाका महिला नेताहरु । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरु आफैंले उत्पादन गरेको एकै खालको पोशाक लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।



मंसिर २७ गतेदेखि कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय समिति बैठकमा सहभागी सबै नेताहरु कालो रंगको कोट, पाइन्ट र सेतो सर्टमा सहभागी भएका हुन् ।

केन्द्रीय समिति सदस्य शरद ओलीका अनुसार ती पोशाक शिवगढीमा पार्टीले नै सञ्चालन गर्दै आएको गार्मेन्टका उत्पादन हुन् । ‘शिवराज नगरपालिकाको शिवगढीमा हाम्रो केन्द्रीय कार्यालय छ । केन्द्रीय कार्यालय मातहत जनकम्युन छ, त्यो जनकम्युनले गार्मेन्ट पनि सञ्चालन गर्दै आएको छ ।

केन्द्रीय समिति बैठकमा सहभागी सबैले लगाएको ड्रेस त्यही गार्मेन्टमा सिलाइएको हो ।’

हेर्दा राम्रो पनि देखिने र सामूहिक रुपमा सिलाउँदा सस्तो पनि हुने भएकाले एउटै ड्रेसकोड बनाइएको उनले बताए ।

उनका अनुसार नेकपाका नेताहरु यसरी एउटै ड्रेसकोडमा बैठकमा सहभागी भएको यो पहिलोपटक हो । अबदेखि बैठक र अरु कुनै औपचारिक कार्यक्रममा पार्टीका नेताहरु यही ड्रेसकोडमा देखिने उनले बताए ।

नेकपाका अर्का एक नेताका अनुसार गार्मेन्ट सन्चालनको जिम्मा संगम सीलाई दिइएको छ । उनी मातहत करिब एक दर्जन जनशक्ति कार्यरत छन् । गार्मेन्टमा कपडाहरु बाहिरबाट ल्याउने र विभिन्न पोशाक सिलाएर बजारमा बेच्ने गरिन्छ ।

उक्त गार्मेन्टमा सर्ट, पाइन्ट, कोट, ज्याकेट, ट्राउजर, ट्र्याक सुट, स्कुल युनिफर्म लगायतका पोशाक सिलाइन्छ । उनीहरुले त्यस्ता पोशाक बेचेर भएको नाफा पार्टीमा बुझाउने नियम बनाइएको छ ।

नेकपाले पार्टीका केन्द्रीय प्रतिनिधि समिति र केन्द्रीय समितिका हरेक सदस्यहरु अनिवार्य उत्पादनमा जोडिनुपर्ने र आयआर्जन गरेर आत्मनिर्भर हुनुपर्ने नियम बनाएको छ ।

यही नियमअनुसार विभिन्न जिल्लामा सिजनअनुसारका कृषि उत्पादन पनि नेकपाले गर्दै आएको छ ।

मोरङ, चितवन, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया लगायतका तराईका जिल्लाहरुमा पशुपालन, सिजनअनुसारका अन्न र नगदेबाली खेती गरिएको छ । जुम्ला र मुगुमा भने स्याउ खेती गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend