logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

केन्द्रीय बैंकमा ठाडो हस्तक्षेप भयो : गभर्नर महाप्रसाद अधिकारी


  • जन आकाश
  • शुक्रबार, चैत्र २२ २०८१

काठमाडौं– गभर्नर महाप्रसाद अधिकारीले पाँच वर्षे कार्यकालको अन्तिम दिन शुक्रबार पत्रकार सम्मेलन गरी केन्द्रीय बैंकको स्वायत्ततामा सरकारले ठाडो हस्तक्षेप गरेको बताएका छन् ।



शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ चैत अन्तिम साता गभर्नर अधिकारीलाई पदमुक्त गर्ने तयारीसहित न्यायिक छानबिन समिति गठन गरेको थियो । त्यतिखेरका अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा न्यायिक छानबिन समिति गठन भएपछि अधिकारी निलम्बनमा परेका थिए ।

‘कार्यकालको दोस्रो वर्षमा नेतृत्वमाथि प्रहार भयो । केन्द्रीय बैंकको स्वायत्ततामा ठाडो हस्तक्षेप हुन गयो । विश्वव्यापी मान्यता तथा मर्मअनुरुप केन्द्रीय बैंकको स्वायत्तता अक्षुण राख्न सर्वोच्च अदालतले साथ दियो । सर्वोच्चका न्यायाधीशहरुलाई धन्यवाद छ । बैंकको स्वायत्ततामा हस्तक्षेप हुँदा बैंकका पूर्वगभर्नर, अर्थशास्त्री तथा सञ्चार जगतबाट पनि खबरदारी भयो,’ उनले भने ।

पाँच वर्षे कार्यकालमा खासगरी कोभिडका कारण चुनौतीपूर्ण बनेको अर्थतन्त्रलाई आफूले लयमा राखेको अधिकारीले दाबी गरेका हुन् ।

‘कोरोना महामारी विश्व अर्थतन्त्रका लागि ठूलो चुनौती भएको अवस्थामा समेत हामी उपलब्ध स्रोत र साधनलाई प्रयोग गरेर सहजता अपनाउन सफल भयौं,’ उनले भने, ‘अनेक उपाय लगाएर अर्थतन्त्रलाई लयमा राख्न सफल भयौं ।’

उनले आफ्नो कार्यकालमा वित्तीय क्षेत्रको सुधारमा महत्वपूर्ण काम भएको दाबी गर्दै ‘यो अवधिमा मौद्रिक नीतिको आधुनिकीकरण गर्दै तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै लगिएको छ । ब्याजदर करिडोरलाई पनि प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा जस्ता व्यवस्था कार्यान्वयनमा लगिएको छ,’ अधिकारीले भने ।

उनले वित्तीय क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा हटेर गएको दाबी गरे । उनको कार्यकालमा राष्ट्र बैंकले ११ वटा नीति, ९ वटा फ्रेमवर्क, १८ वटा मार्गदर्शन, ११ वटा निर्देशिका, ७ वटा म्यानुुअल र ४१ वटा कार्यविधि जारी गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend