logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

दाउन्नेमा १० किलोमिटरसम्म सवारी साधन जाममा


  • जन आकाश
  • सोमबार, कार्तिक १७ २०८२

काठमाडौं । बुटवल नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्ने सडकमा गाडी नचलाउन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले सूचना जारी गर्दै निर्माणाधीन अवस्थामा रहेको दाउन्ने खण्डमा सडक चिप्लो भएको र घण्टौँसम्म सवारी साधनको जाम रहेकोले वैकल्पिक सडक प्रयोग गर्न सवारी साधनका चालक तथा यात्रुहरूलाई आग्रह गरेको हो।



निर्माणाधीन अवस्थामा रहेको सडकमा पानी परेपछि चिप्लो भएका कारण पछिल्लो तीन चार दिनदेखि सडकमा सवारी साधनको जाम लागेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी दाउन्नेका प्रहरी वरिष्ठ हवलदार जितबहादुर बरामले सडक चिप्लो भएको र निर्माणको क्रममा रहेकोले बर्दघाटदेखि दुम्किबाससम्म नै सवारी साधनको लाइन रहेको बताए।

‘अधिकांश गाडीहरू १२ घण्टादेखि नै सडकको जाममा फसेका छन्, दाउन्नेदेखि बर्दघाटतर्फ भन्दा दुम्किबासतर्फ गाडीहरूको लाइन धेरै रहेको छ,’ उनले भने। आइतबार राती दम्किबास आइपुगेका कतिपय सवारी साधन अहिले पनि दाउन्नेको जाममै फसिरहेको बरामले बताए।

ढलानको लागि खनेको अवस्थामा पानी परेपछि सडक चिप्लो बनेको र तीन चार ठाउँ कल्भर्ट र नाली निर्माण भइरहेकोले एकतर्फी मात्र सवारी साधन सञ्चालन हुने भएकोले पनि सवारी साधनको ठूलो जाम रहेको बरामले बताए।

बरामका अनुसार बर्दघाटबाट पूर्वतर्फ जाने सवारी साधन दाउन्नेको बजारसम्म सहज रूपमा जाने गरे पनि दुम्किबासबाट पश्चिमतर्फ आउने सवारी साधनलाई भने सकस हुने गरेको छ। बर्दघाटतर्फको धेरैजसो सडक कालोपत्रे र ढलान भइसके पनि दुम्किबासतर्फको सडक भने कालोपत्रे हुन सकेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend