logo आइतबार, कार्तिक १६ २०८३ | Sunday 1st November 2026

नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु


  • जन आकाश
  • आइतबार, कार्तिक १६ २०८३

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज (कात्तिक १५) देखि सडक दस्तुर संकलन सुरु गरिएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको दरअनुसार दस्तुर तिरेर मात्र आवतजावत गर्नुपर्ने व्यवस्था गरिएको हो ।



नागढुङ्गा सुरुङमार्ग आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुङमार्ग प्रयोग गरी काठमाडौं भित्रिने तथा बाहिरिने सबै सवारीसाधनले नेपाल राजपत्रमा प्रकाशित सवारी वर्गीकरणअनुसारको दस्तुर तिर्नुपर्नेछ ।

निर्धारित दरअनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, ठूला सवारीसाधनले सुरुङमार्ग प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

सुरुवाती चरणमा नगद तथा क्यूआर(QR) प्रणालीमार्फत दस्तुर भुक्तानी गर्न सकिनेछ । आगामी दिनमा आरएफआईडी (RFID) कार्ड तथा ट्याग प्रणाली लागू गरी स्वचालित रूपमा दस्तुर भुक्तानी गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको आयोजना प्रमुख नेपालले जानकारी दिए ।

सुरुङमार्गमा सेवा प्रदायकका कर्मचारीमार्फत दस्तुर संकलन गरिनेछ । यसरी संकलित रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ । दस्तुर संकलनको सञ्चालन तथा अनुगमन सडक बोर्ड नेपाल र सडक विभागले गर्नेछन् ।सडक दस्तुर लागू भएसँगै नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको शुल्कअनुसार यात्रा गर्नुपर्ने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend