logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ऊर्जा मन्त्रीको निर्देशन,मिटर ट्रान्सफर्मरको अभाव नहुने, प्राधिकरण परियोजनामा सूचनापाटी अनिवार्य गर्न सुझाव


  • जन आकाश
  • बिहिबार, असार ४ २०८३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणसँग उपभोक्तासँग प्रत्यक्ष जोडिएका मिटर, ट्रान्सफर्मर लगायतका उपकरणहरूको मौज्दात र आपूर्ति व्यवस्थापनबारे जानकारी लिनुभएको छ ।



नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकका क्रममा मन्त्री श्रेष्ठले प्राधिकरण व्यवस्थापनसँग सो विषयमा छलफल गर्नुभएको हो ।
उपभोक्ताबाट मिटर तथा ट्रान्सफर्मर जस्ता आवश्यक उपकरणहरू सहज रूपमा उपलब्ध नभएको गुनासो बढेपछि मन्त्री श्रेष्ठले चासो व्यक्त गर्नुभएको थियो । बैठकमा प्राधिकरण व्यवस्थापनले खरिद प्रक्रिया पूरा गर्दा केही समस्या देखिए पनि हाल पर्याप्त मौज्दात रहेको र थप आपूर्ति हुने क्रममा रहेको जानकारी गराएको छ । व्यवस्थापनले अब उपभोक्तालाई यस्ता उपकरणको अभाव नहुने स्पष्ट पारेको छ ।

त्यस्तै मन्त्री श्रेष्ठले देशभर सञ्चालनमा रहेका विद्युत् प्राधिकरणका विभिन्न परियोजनाहरूको बारेमा सर्वसाधारणलाई स्पष्ट जानकारी दिने सूचनापाटी राख्न सुझाव दिनुभएको छ।सूचनापाटीमा परियोजनाको कुल लागत, निर्माण सम्पन्न हुने अनुमानित अवधि, निर्माण गर्ने कम्पनीको नाम, परियोजना प्रमुख तथा सूचना अधिकारीको नाम र सम्पर्क नम्बर जस्ता विवरण राख्न मन्त्री श्रेष्ठको सुझाव छ ।

मन्त्री श्रेष्ठले यस्ता सूचनापाटीले परियोजनाको पारदर्शिता बढाउने र जनताले सजिलै जानकारी पाउने बताउनुभएको छ । यो बैठकमा ऊर्जा क्षेत्रका अन्य चालु परियोजनाहरूको प्रगति तथा चुनौतीका विषयमा पनि छलफल भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend